४०० बढी फाजिलका वन रक्षक प्रदेशमा समायोजन

काठमाडौं । सरकारले वन सेवा जनरल फरेष्ट्री समूहको राजपत्र अनङ्कित द्वितीय श्रेणी अर्थात खरिदार सरहका वन रक्षकलाई प्रदेशमा समायोजन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि फाजिलमा रहेका वन रक्षक कर्मचारीलाई प्रदेशमा समायोजन गर्ने निर्णय गरेको हो ।

फाजिलमा रहेका वन रक्षकले लामो समयदेखि सिंहदरवारमै पुगेर आफूहरूको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका थिए । लोक सेवा आयोगमार्फतले लिएको परीक्षाबाटै उत्तीर्ण भएका वन रक्षक बनेका कर्मचारी अहिले काम गर्ने वातावरण माग्दै आन्दोलनमा छन् । पाँच वर्षदेखि उनीहरू दरबन्दीविहीन अवस्थामै वन मन्त्रालय अन्तर्गत विभिन्न निकायमा खटिदै आएका छन् ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका करिब १८५ जनाले दरबन्दीअनुसार नै संघ र प्रदेश अन्तर्गतका कार्यालयमा खटिन पाए पनि करिब ४२५ जना वन रक्षक भने दरबन्दीविहीन थिए ।

संघ अन्तर्गत नै उनीहरू प्रदेशका कार्यालयमा पठाइए पनि प्रदेशले उनीहरूलाई विभिन्न बहाना बनाएर पदस्थापन नगरेर पन्छाउँदै आएका थिए । प्रदेशले संघको कर्मचारी भन्ने र संघले प्रदेशतिरै बस्न भन्ने अवस्थाले वन रक्षक लामो समयदेखि अन्यौलमा थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *