काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत तथा ‘काठमाडौं डिलेमा’ किताबका लेखक रञ्जित रेले भारत भ्रमणमा हुँदा प्रधानमन्त्री प्रचण्डले सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन र सीमा समस्यादेखि गोर्खा भर्तीका कुरा नउठाएको खुलासा गरेका छन् ।
प्रचण्डले आर्थिक मुद्दामात्रै उठाएको भारतीय संस्थापननिकट पूर्वराजदूत रेले उल्लेख गरेका छन् । भारतको रिसर्च संस्था सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एण्ड सेक्युरिटी इस्युज्मा एक लामो आलेख लेख्दै रेले यस्तो उल्लेख गरेका हुन् ।
रेले एसियाली विकास बैंकको ऋण तथा चीनको कम्पनीले बनाएको भैरहवा विमानस्थल सञ्चालन अगाडि नेपालले भारतको सल्लाह लिनुपर्ने समेत बताएका छन् । चीनले प्रभावित बनाएका नेपाली कम्युनिस्टहरूले एमसीसी चीनविरोधी कार्यक्रम भएको भन्दै यसलाई इण्डो प्यासिफिक रणनीतिकको अंग भएको भन्ने भाष्य बनाएको उल्लेख गरेका छन् ।
एमसीसी पारित भएपछि अमेरिकी सम्पर्क बढेर गएको तथा सिआइए निर्देशकको नेपाल भ्रमण तालिका आएपछि नेपालले अस्वीकार गरेको समेत रेले उल्लेख गरेका छन् ।
रेले बीआरआई बारेमा लेखेका छन्, ‘ओलीको समयमा चीनको बीआरआई परियोजना अगाडि बढे पनि अहिलेको सरकारको समयमा यसको कार्यान्वयनमा समस्या ज्यादै थोरै प्रगति भएको छ ।
प्रचण्डको चीन भ्रमणमा भएको ताइवानको नाम लिएर यसको स्वतन्त्रताको विरुद्धमा आएको अभिव्यक्ति कम चासो गरिएको रेको भनाइ छ ।
सुगौली सन्धि भएको २०५ वर्षपछि नेपालले नयाँ नक्सा ल्याएकोले भारतलाई मान्य नहुने रेको दाबी छ भने उनले नेपालको सामाजिक तनावको बारेमा पनि लेखेका छन् । लेखमा तराईको हिन्दू-मुस्लिम र धरानको हिन्दू-जनजाति समस्याले नेपालको सामाजिक सद्भाव बिथोल्न सक्ने भनिएको छ ।

Leave a Reply