घुर्मी । ‘पहिचानवादी’ समूहले नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेशमा अवरोध गर्ने तयारी थालेपछि लोकतान्त्रिक आदिवासी जनजाति महासंघले ‘काउन्टर’ तयारी गरेको छ ।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको समृद्धिका लागि संकल्प यात्रा २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ । उदयपुर, ओखलढुंगा र खोटाङको सिमाना घुर्मी बजारमा एमालेको मध्यपहाडी यात्रा प्रवेश गर्ने दिन पारेर पहिचानवादीहरूले कोशी नाम खारेजीविरुद्धको सभा गर्ने भनेका छन् ।
पहिचानवादीहरुले एमालेको अभियान कोशीमा अवरोध गर्ने घोषित नीति लिएपछि एकातिर सुरक्षा निकायले निगरानी बढाएको छ भने अर्कोतिर एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले अवरोध भए लखेट्ने र प्रतिवाद गर्ने योजना बनाएको छ ।
महासंघ आबद्ध आदिवासी जनजाति युवाहरुको स्वयंसेवक टोली कोशीका प्रत्येक जिल्लामा निर्माण गरिएको महासंघका कोशी प्रदेश सचिव हरि लिम्बूले बताए । पहिचानवादीसँग भिड्न परे आदिवासी जनजातिकै स्वयंसेवक टोली भिड्ने तयारीमा रहेको छ ।
महासंघका अध्यक्ष पासाङ शेर्पा, महासचिव पेम्बा भोटेसहितको केन्द्रीय टोलीले यसबीचमा घुर्मीदेखि पाँचथरसम्म पुगेर आदिवासी जनजाति महासंघ आबद्ध कमिटीहरुको भेला र बैठक सम्पन्न गरेको छ । सोही क्रममा पहिचानवादी जसरी आउँछन् त्यसैगरी व्यवहार गर्ने भन्दै स्वयंसेवक निर्माण गरिएको हो ।

अध्यक्ष शेर्पाले भने पार्टीको अभियानलाई कोशी प्रवेश गरेपछि आदिवासी जनजाति महासंघले सुरक्षा तथा स्वागतका लागि स्वयंसेवकहरू निर्माण गरेको बताए । उनले प्रत्येक जिल्ला र प्रत्येक गाउँमा जहाँ पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली पुग्छ त्यहाँ सोही ठाउँका आदिवासीको झाँकीसहित स्वागतको तयारी भएको बताए ।
उनले भने- कोशी प्रदेश विभिन्न आदिवासी जनजातिहरुको बसोबास भएको ऐतिहासिक थातथलो हो । यहाँका सभ्यता,संस्कृति र पहिचान झल्किनेगरी पार्टीको शीर्ष नेतृत्वसहितको यो अभियानलाई आदिवासी जनजातिको तर्फबाट स्वागत सत्कार गर्न तयारीका लागि हामी सबै ठाउँमा बैठक गर्न गएका हौं । जहाँसम्म पहिचानवादीको अवरोधको कुरा छ, एमालेमाथि कहिँ कतै त्यस्तो हर्कत भए ठाउँको ठाउँ प्रतिवाद गर्न र लखेट्न सक्षम आदिवासी जनजाति स्वयंवेकहरु तयार छन् ।
पहिचानवादी भन्नेहरु सत्ता गठबन्धनमा आबद्ध दलकै कार्यकर्ताहरू रहेको र उनीहरू परिचित नै रहेकाले सरकारले एमालेको कार्यक्रममा अवरोध गर्न भिजिलान्ते प्रयोग गरेमा आदिवासी जनजाति युवा नै अग्रभागमा रहेर जस्ताको त्यस्तै जवाफ दिने तयारी रहेको महासंघले जनाएको छ ।
शेर्पाले भने- एकातिर एमालेविरुद्ध राजावादी र अतिवादी दक्षिणपन्थीहरु छन् । अर्कोतिर पहिचानवादीका नाममा केही सत्ताधारी दल आबद्ध व्यक्ति र समूहहरु एमालेको अभियानमा अवरोध गर्ने भन्दै राजावादीहरुलाई नै साथ दिइरहेका छन् । यदि पहिचानवादी साथीहरु साँच्चिकै यो व्यवस्थाका पक्षधर हुन् भने अवरोध होइन एमालेको अभियानमा सहभागी भएर साथ दिनुपर्छ ।
कांग्रेस र माओवादीले नै कोशी प्रदेश नामाकरण गरेकाले पहिचानवादीका नाममा एमालेमाथि आक्रमण र अवरोध प्रयास राजनीति प्रेरित रहेको कुरामा कोशीका आदिवासी जनजातिहरु जानकार रहेको महासचिव भोटेको भनाइ छ । उनले एमालेको अभियानमा कतैबाट अवरोध भए आदिवासी जनजातिले प्रतिवाद गर्ने र त्यसको जिम्मेवार सरकार तथा सत्तासमर्थक पहिचानवादी संगठनहरू हुने चेतावनी समेत दिएका छन् ।
यसैबीच पहिचानवादी आन्दोलनकारीहरूले एमालेको अभियानमा अवरोध हुँदा आदिवासी जनजातिहरुबीच नै झडप हुने भएकाले ‘जनजाति नभिड्ने’ बारे छलफल भइरहेको जनाएका छन् । यसबीचमा महासंघका अध्यक्ष शेर्पासँग पहिचानवादी संगठनका नेताहरूले वार्ता समेत गरेका छन् ।

Leave a Reply