रुकुमपश्चिम अदालतको फैसलाको बुटवलमा स्वागत गर्दै दीप प्रज्वलन

रुपन्देही । रुकुम पश्चिमको सोती घटनामा भएको नवराज विकसहित ५ जनाको हत्यामा संलग्न आरोपीहरुलाई रुकुम जिल्ला अदालतले न्याय दिएको भन्दै बुधबार बुटवलमा स्वागत गर्दै दीप प्रज्जवलन गरिएको छ ।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवल पुष्पलाल पार्कमा अदालतको फैसलाले सिंगो दलित समुदायलाई न्याय दिलाएको महशुस गर्दै फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेको हो ।

मंगलबार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको छ ।
संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले बोल्दै रुकुममा प्रेम सम्बन्धका कारण नवराज विकसहितका ५ जनाले अकालमा ज्यान गुमाएको साढे तीन वर्षको लामो संघर्षपछि बल्ल पीडितले न्याय पाएको बताए ।

कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय सदस्य रवि विक, नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीका इन्चार्ज पदमबहादुर विश्वकर्मा, मुक्ति समाज रुपन्देहीका जिल्ला सचिव हेम बहादुर विकले रुकुम अदालतको फैसलाले न्याय नमर्ने सन्देश दिएको बताए ।

कार्यक्रममा बुटवल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष दीपक विक, जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सदस्य शशि विश्वकर्मा, तिलोत्तमा फुटवल एकेडेमीका अध्यक्ष तिलक नेपाली, फुलबारी विसे नगर्ची प्रतिष्ठानका कोषाध्यक्ष कान्ति परियार लगायतले बोल्दै पीडितको पक्षमा रुकुम जिल्ला अदालतले गरेको फैसलाको स्वागत गर्दै मृतक नवराज विकसहितका युवाहरुको आत्माले शान्ति पाएको बताए ।

२०७७ जेठ १० गते रुकुम पश्चिम सोतीमा जाजरकोटबाट प्रेमिका लिन गएका नवराज विक नवराजविक सहितका युवाहरु टीकाराम विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाहीको हत्या भएको थियो । मृतकहरु सबैको भेरी नदीमा शव भेटिएको थियो । घटना भएको साँढे तीन वर्षपछि मंगलबार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको हो । यो फैसलापछि देशभरका दलित समुदायले स्वागत गर्दै न्यायलय प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

जन्मकैद हुनेहरुमा तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ छन् ।

यस्तै, जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *