डोटी । ५० दिनदेखि जिल्ला अस्पताल डोटीको शव गृहमा रहेको बेवारिसे शिशुको शव अझै व्यवस्थापन हुन सकेको छैन ।
स्थानीयबासीले दिएको सूचनाका आधारमा प्रहरीले कात्तिक १ गते शिखर नगरपालिका-६ स्थित सेती नदी किनारबाट एक शिशु (बालक) को शव बेवारिसे अवस्थामा फेला पारेको थियो ।
प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव परीक्षण (पोष्ट मार्टम) का लागि जिल्ला अस्पताल पुर्याएको थियो । शवको पोष्टमार्टम पनि भइसकेको र आवश्यक अनुसन्धानको कार्य पूरा भइसकेको छ । तर, शव पहिचान हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय, डोटीले आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरी उक्त शवको अन्त्येष्ठिका लागि कात्तिक १२ गते शिखर नगरपालिकालाई पत्राचार गरेको थियो । नगरपालिकाले शव व्यवस्थापनमा कुनै चाँसो नदेखाएको प्रहरीको भनाइ छ ।
‘हामीले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम नगरपालिकालाई शव व्यवस्थापनका लागि आग्रह गरेका थियौं’ डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बिष्णुहरि कोईरालाले भने ‘नगरपालिकाले हालसम्म कुनै पहल गरेको छैन ।’ शवको व्यवस्थापन गर्ने कार्य प्रहरीको नभइ सम्बन्धित स्थानीय तहको भएको कोइराला बताउँछन् ।
निर्देशिकाको दफा १६ मा प्रहरी कार्यालयले सम्वन्धित स्थानीय तहको समन्वयमा बेवारिसे शवको अन्त्येष्ठि गर्नु पर्ने व्यवस्था गरेको छ । निर्देशिकाको दफा १७ अनुसार अन्त्येष्टि लागि लाग्ने खर्च सम्वन्धित स्थानीय तहले व्यवस्थापन गर्नु पर्ने व्यवस्था छ ।
शिशु कसले, किन र कसरी फालेको हो भन्ने भन्ने बारे कुनै तथ्य फेला जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए ।

Leave a Reply