प्रधान सेनापतिको आक्रोश- व्यक्तिगत स्वार्थका लागि संगठनविरुद्ध मिडियाबाजी गर्नेमाथि कारबाही हुन्छ

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संगठनविरुद्ध लाग्ने प्रतिवद्ध अन्त्य गर्न आफू कटिबद्ध रहेको बताएका छन् ।

गण र गुल्मका कमान्डरका लागि आयोजित ओरिन्टेसन कार्यक्रममा शर्माले व्यक्तिगत स्वार्थलाई लिएर संगठन प्रतिकुल गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए । उच्च ओहोदाका अधिकृत विवादित बनेपछि नेपाली सेना अहिले चर्चामा छ । जन्ममितिमा कैफियत देखिएपछि रथीमा सिफारिस भएका ताराध्वज पान्डेले हालै सेवाबाट राजिनामा दिएका थिए ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमलाई प्रयोग गरेर नेपाली सेनाका कामकारबाही, नियमित सञ्चालन प्रकृया लगायत विषयमा अनर्गल प्रचार भइरहेको भन्दै उनले विधि, पद्धती र प्रकृया विपरित कसैसँग सम्झौता नगर्ने बताए ।

 

पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरुको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारवाहीहरु, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा अनर्गल प्रचारबाजी भैरहेकोतर्फ सकलदर्जालाई सचेत रहन निर्देशित गर्दै प्रधान सेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पद्धती तथा प्रकृया विपरीत कसैसँग कुनै सम्झौता नगर्ने कुरा बताएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति शर्माले भने, ‘असंख्य सिपाहीहरुको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहीत स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भइ त्यस किसिमको कार्य गर्नेहरुको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

प्रधान सेनापतिले आफ्नो र प्रधानमन्त्रीकोबीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भै विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार पूर्णतः गलत रहेको बताएका छन् ।

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया शुरु भएसँगै सम्भावित उम्मेद्वारहरुको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको समेत प्रधान सेनापतिले बताएका छन् ।

त्यसक्रममा उनले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरु आवश्यकता अनुसार सम्बध्द निकायहरुबाट यकीन गरेर मात्र जङ्गी अड्डाले कारवाही अघि बढाउने गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *