एमाले सांसदहरुको चेतावनी- संकल्प यात्रालाई अवरोध गरिए प्रतिकार गर्छौं

विराटनगर । नेकपा एमालेले मध्यपहाडी लोकमार्गलाई केन्द्रित गरेर सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई अवरोध भए प्रतिरोध गरिने प्रदेशसभा सदस्यहरुले बताएका छन् ।

संकल्प यात्रामा केही अमुक व्यक्ति तथा समूहको तर्फबाट यात्रालाई कोशी प्रवेश गर्न नदिने भनी गलत प्रचार गर्न खोजिएको भन्दै नेकपा एमालेका सांसदहरूले त्यस्तो अवस्था आए प्रतिकार हुने चेतावनी दिएका हुन् ।

कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरुले कुनै पनि दलले आफ्ना गतिविधिहरू शान्तिपूर्ण रूपमा गर्न पाउने संवैधानिक तथा कानूनी व्यवस्था हुँदा हुँदै केही व्यक्तिहरूले एमालेलाई लक्षित गरी कोशी प्रदेश प्रवेश गर्न अनुमति लिनु पर्ने भन्दै गलत हल्ला चलाएको एमाले सांसदको भनाइ छ । कोशी प्रदेश सभा सदस्य तिलचन पाठकले नेकपा एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म १७५० किलोमिटर यात्रा हुने बताए ।

‘विकास निर्माणको अवस्था बुझ्न, जनतासँग छलफल गर्ने भन्दै सुरु भएको सङ्कल्प यात्रा कार्यक्रम असफल पार्न विभिन्न मानिसहरू लागेको पाइयो, उनले भने, यस्ता खालका गतिविधिहरू पहिला देखि नै हुँदै आएको छ, अहिलेको संवैधानिक व्यवस्था र संविधान विरोधी गतिविधि गर्न मिल्छ र ?’

प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतले पुष्पलाल लोक मार्ग अन्तर्गत सङ्कल्प समृद्धिको अभियान अन्तर्गत १८ दिनको यात्रा मध्ये कोशी प्रदेशमा ३५० किलोमिटर ८ दिनमा यात्रा हुने बताए ।

‘नेकपा एमालेको समृद्धिकोलागि सङ्कल्प यात्रालाई अवरोध गर्न, असफल पार्ने प्रयास भएको छ’, उनले भने, ‘कुनै शक्ति तथा समुदायलाई भ्रम फैलाउने गरी भएको गतिविधि एमालेलाई मान्य हुँदैन, त्यस्ता भ्रम फैलाएर पार्टीलाई बदनाम गर्ने कामको एमालेले प्रतिकार गर्छ ।’

प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेपले ‘ठुलो बलिदानी पछि आएको व्यवस्थामा दलहरूले शान्तिपूर्ण कार्यक्रम गर्न पाइने बताए । उनले भने, ‘कोशी प्रदेशमा प्रवेश गर्न कुनै अमुक ब्यक्तिको अनुमति /भिसा चाहिने अवस्था हो र ?’

Comments

One response to “एमाले सांसदहरुको चेतावनी- संकल्प यात्रालाई अवरोध गरिए प्रतिकार गर्छौं”

  1. ksp pyl Avatar
    ksp pyl

    सहयोग आवश्यक भए सम्झनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *