महानगरले अस्वाभाविक कर बढाएको भन्दै रास्वपा इटहरीद्वारा आन्दोलनको चेतावनी

इटहरी । इटहरी उप महानगरपालिकाले बढाएका कर समायोजन नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले मङ्सिर मसान्त भित्रमा कर समायोजन गर्ने आश्वासन दिएको भए पनि समायोजन गर्ने तर्फ ध्यान नदिएको भन्दै रास्वपा इटहरीले आन्दोलनको चेतावनी दिएको हो ।

इटहरी उप महानगरले आर्थिक ऐन २०८० मा करको दरमा ३ सय प्रतिशत भन्दा बढी कर वृद्धि गरेपछि रास्वपा इटहरीले साउन १४ गते ज्ञापन पत्र बुझाएको थियो ।

कर समायोजनको माग राख्दै बुझाएको ज्ञापन पत्रको माग सम्बोधन नभएपछि रास्वपाले साउन २५ गतेबाट इटहरी उप महानगरको गेट अगाडि धर्ना बसेको थियो ।

रास्वपाले साउनको १८ गतेबाट वडा तहबाट कर वृद्धिको विरोधमा हस्ताक्षर सङ्कलन गर्दै असोज ६ गते इटहरी उप महानगरलाई हस्ताक्षर बुझाएको थियो ।

आन्दोलन सुरु गरेपछि उप महानगरले मङ्सिर भित्रमा कर समायोजन गर्ने आश्वासन दिएको भए पनि कर समायोजन नभएकाले आन्दोलन गर्नु पर्ने बाध्यता आएको रास्वपा इटहरीका कार्यवाहक सभापति हरिमाया अधिकारीले बताइन् ।

रास्वपाले विज्ञप्ति निकाल्दै मङ्सिर मसान्त सम्ममा कर समायोजन नभए पुस १ गतेबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यस अघि नेकपा एमालेले कर र राजश्वको दर घटाउन माग राख्दै इटहरी उपमहानगरपालिकाको विशेष नगर सभाको माग गरेको छ ।

इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *