रुपन्देही । मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्रमाथि खतरा पूर्वराजा र राजावादीबाट नभई अहिलेका दल र यही दलका नेताहरुबाटै भएको आरोप लगाएका छन् । शान्ति समाजले सोमबार बुटवलमा आयोजना गरेको लोकतन्त्रको प्राणः सुशासन र सद्भाव नागरिक संवाद अभियानलाई सम्बोधन गर्दै पहाडीले अहिले अरुलाई आरोप लगाएर दलका नेताहरु उम्कन खोजेको बताए ।
‘नेताहरु भ्रष्ट र नागरिक त्रस्त भएको अवस्था हो, यही अस्थिर अवस्थामा कसैले हल्ला चलाएर व्यवस्था परिवर्तन हुँदैन, लोकतन्त्रको विकल्प लोकतन्त्र हो, यसको खतरात अरुबाट छैन’, उनले भने, ‘दलका नेताहरुबाटै हो । यसमा हामी सचेत हुनपरो ।’
‘नागरिकमा निरासा बढेका कारण यस्तो भ्रम बढेको हो । सबै दलमा अहिलेका नेताहरुको नेतृत्व पंक्ति बदलेर अर्को पुस्ता तयार गरेर निकास निकाल्न सकिन्छ, योे नै निकास हो, शान्ति समाजले जागरण ल्याउने हो, सचेतना ल्याउने हो, हामी सत्तासीन हुने होइन, सत्ताका लागि हाम्रो भनाइ नमिठो हुनसक्छ तर खबरदारी गर्न छोड्ने होइन’, पहाडीले भने ।
पहाडीले लोकतन्त्रको विकल्प खोज्न नसकिने बताउँदै यसको विकल्प खोज्नेहरुलाई लिङदेन र कमल थापाको पार्टीमा जान आग्रह गरे । लोकतन्त्रलाई बचाउन नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिंदै उनले भने, ‘लोकतन्त्रको विकल्प खोज्नु मुर्खता हो । राजनीतिक दलका नेताहरुले बाटो बिराएकाले लोकतन्त्र विरोधीहरु लोकतन्त्रको बिरोधमा उत्रन मौका पाएका हुन् ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनमा जान्छु भन्ने बोली र संविधान नमान्ने विप्लव नेकपासंग समाजवादी मोर्चा गठन गर्ने कार्य लोकतन्त्र विरोधी भएको उदाहरण पेश गरे । प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले लोकतन्त्र विरोधी गतिविधिमा लागेको उनल् आरोप लगाए ।
दलका शीर्ष नेताहरु भ्रष्ट भएको दावी गर्दै नेताहरु नसुध्रिए लोकतन्त्र कमजोर हुने बताउंदै उनले भने, ‘दलका नेताले राजनीतिलाई कमाउने पेशा व्यवसाय बनाए । भ्रष्ट राजनीतिले लोकतन्त्र बदनाम भएको छ, नेपालको संसद राष्ट्रिय पञ्चायत जस्तो हुन थालेको छ ।’
राजनीति पार्टीको कोटाबाट न्यायलयमा मान्छे राखेर देश नचल्ने तथा धर्म र जातजातिको राजनीति कसैले पनि गर्न नहुने बताउँदै उनले भने, ‘नेताहरुप्रति जनताको विश्वास घटेको छ । मौका छोपेर धार्मिक एजेण्डाको नाममा लोकतन्त्र विरोधी अभियान मौलाउँदै गएकाले लोकतन्त्र बचाउन नागरिक सचेत हुने समय आएको छ ।’
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण पराजुलीले नागरिक आन्दोलन सुस्ताउँदै जांँदा लोकतन्त्रमाथि हमला भएको बताए । उनले लोकतन्त्र जोगाउन दलका नेताहरुको आवाज कमजोर भएको तर्क गरे ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति दसमाजका पूर्व अध्यक्ष गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, वरिष्ठ पत्रकार डा. वालकृष्ण चापागाई, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, लेखक ऋषि आजाद, नेपाली कांगे्रसका प्रजापाल गिरी, माओवादीका महेन्द्र भुसाल, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरज भट्टराई, रिता सेन लगायतले बोल्दै लोकतन्त्रको विकल्प खोज््न नसकिने बताउंदै राष्ट्रियताको विषयमा गम्भीर हुन मानव अधिकार तथा शान्ति समाजलाई सुझाव दिएका थिए ।
संघीयतासंगै निर्माण भएका प्रदेश संरचनाले आर्थिक बेथिति मौलाउंँदै गएकाले अहिलेका संरचनागत खर्च घटाउन दवाव दिन वक्ताहरुले सुझाएका थिए ।

Leave a Reply