अन्तः शुल्क स्टिकर दुरुपयोग गरेको आरोपमा पक्राउ

विराटनगर । राजस्व विभागको अन्तःशुल्क दुरुपयोग गरेको आरोपमा एक जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारका ४८ वर्षीय सुनीलकुमार राजवंशी लाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार भोला गुट्खालगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग गरेको बताए ।

उनले विशेष सूचना आएपछि राजवंशीको पसलमा प्रहरीले छापा हानेको बताए । छापा हान्ने क्रममा प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले राजवंशीको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ । राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने दाहालले बताए ।

राजस्व छली गर्नलाई भोला गुट्खाको ‘प्याकेट’मा प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका लागि उनले पठाउने गरेको प्रहरीको दाबी छ । राजवंशीले उक्त स्टिकर विराटनगरतिर आफूले पठाउने गरेको बताएका छन् । तर, कसलाई पठाउने गरेका थिए भन्ने खुलिसकेको छैन ।

गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ । ‘प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउँदै राजस्व छली गर्ने गरेको पाइएको छ,’ प्रहरीका एक अधिकारीले भने, ‘त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि संकलन गर्ने गरेको पत्ता लाग्यो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *