काठमाडौं । विश्वभरका बौद्धमार्गीहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल बुद्धिस्ट कम्फेडेरेसन (आइबिसी) को अध्यक्ष निर्वाचित भएका खेन्पो छिमे छिरिङ डा.ल्हारक्याल लामालाई राजधानी काठमाडौंमा विशेष अभिनन्दन गरिएको छ ।
हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न आइबिसीको दोस्रो महाधिवेशनबाट लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत रहेका धर्मगुरु डा.ल्हारक्याल लामा अध्यक्ष निर्वाचित भएका हुन् । बुद्धिस्टहरुको अन्तर्राष्ट्रिय फोरममा नेपालको यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।
शनिबार ह्योल्मो समाजले बौद्ध तिनचुलीमा आयोजना गरेको विशेष अभिनन्दन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्मानपत्र र खादाले प्रथम ह्योल्मो खेन्पो डा.लामालाई सम्मानित गरेका हुन् ।
डा.लामा यसअघि सो संस्थाको स्थायी समिति सदस्य, अन्तर्राष्ट्रिय समिति सचिव हुँदै यसपटक सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यो संस्थामा विश्वभरका बौद्धमार्गी आबद्ध देशका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
अभिनन्दन कार्यक्रममा मन्त्री किरातीसहित एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री शेरवहादुर तामाङ, वागमती प्रदेशका मन्त्री युवराज दुलाल, पूर्वमन्त्री निमा लामालगायतले डा.ल्हारक्याल लामाले नेपालको प्रतिष्ठा बनाउने काम गरेको बताए ।


तस्बिरहरु : गौरव पौडेल

Leave a Reply