विराटनगर । अनेरास्ववियु ताप्लेजुङका सह-संयोजक विवेक बानियाँलाई खेदीखेदी खुकुरी प्रहार गर्नेलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ ।
लेनदेनको विषयमा खुकुरी हान्ने प्रेमराज लिम्बु (मावो) का विरुद्ध किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ गरेको छैन ।
लिम्बु विरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
मुद्दा दर्ता भए पनि प्रहरीले लिम्बुलाई पक्राउ गर्न आल टाल गरेको पीडित बानियाँले बताए । उनको झापा स्थित बीएण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
उनको खुट्टामा चोट लागेको छ । एमाले भातृ सङ्गठन अनेरास्वियुका नेता तथा कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव बानियाँ माथि ताप्लेजुङको फुङ्लिंग नगरपालिकामा रहेको पाथीभरा होटेलमा खुकुरी प्रहार भएको हो ।
स्थानीय ठेकेदार प्रेम मावोले लेनदेनको विषयमा एमालेका नेता तथा कार्यकर्ताहरूको अगाडि नै बानियाँ माथि पटक पटक खुकुरी हानेका थिए ।
बानियाँलाई मावोले ९ लाख २० हजार रुपैयाँ दिनुपर्ने थियो । पटक पटक माग्दा पनि नदिएपछि मावोले बानियाँलाई चेक दिएका थिए ।
चेक नसाटिएपछि केही दिन अघि बानियाँले मावो विरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेका थिए । सोही विषयमा छलफल पछि ठेकेदार मावोले बानियाँ माथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रहरी प्रमुख राजन लिम्बुले लिम्बुको खोजी कार्य जारी रहेको बताए । उनले भने, ‘हामी जाहेरीका आधारमा खोजी गरिरहेका छौ । अहिले सम्म पक्राउ गर्न सकिएको छैन ।’

Leave a Reply