हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकहरूबीच सहमति भएको छ । सहमतिसँगै प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
प्राध्यापकको रोकिएको तलबभत्ताबापतको रकम एक महिनाभित्र प्रतिष्ठानले उपलब्ध गराउने सहमति भएको प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले बताए ।
प्रतिष्ठानको प्रतिबद्धतापछि आन्दोलनरत प्राध्यापकहरू शिक्षण कार्यमा फर्किएका छन् । कार्तिक २२ गतेदेखि प्रतिष्ठानका २४ जना प्राध्यापक ३ महिनादेखिको तलबभत्ताबापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएका थिए ।
उनीहरुले नियमित तलब सुविधा पाउनुपर्नेसहित सात बुँदे माग राख्दै आन्दोलन गरेका थिए । प्राध्यापक आन्दोलनको कारण प्रतिष्ठानका २०० विद्यार्थीको पढाइमा बाधा पुगेको थियो ।

Leave a Reply