काठमाडौं । ‘व्यवस्था उल्टाउने’ भन्दै दुर्गा प्रसाईंले सुरू गरेको महाअभियान राजसंस्था समर्थकहरूकै बीच सन्देहको घेरामा परेको छ । प्रसाईंका राजनीतिक एजेन्डाहरू स्पष्ट नरहेको र राजसंस्थाको नाम लिएर आफ्नो दुनो सोझ्याउने प्रयासमात्र गरेको आरोप खाँट्टी राजावादीहरूले लगाउन थालेका छन् ।
त्यसो त प्रसाईंको ‘राष्ट्रियता, धर्मसंस्कृति नागरिक बचाऊ महाअभियान’ नामक आन्दोलनको घोषित एजेन्डामा राजसंस्था पुनर्स्थापना कहिले पनि थिएन । उनका कुनै पनि ब्यानर र लेखोटहरूमा ‘राजसंस्था फर्काउने’ भनेर उल्लेख छैनन् । मौखिक अभिव्यक्तिमा पनि ‘राजसंस्था पुनर्स्थापना’ नभनिकन ‘व्यवस्था परिवर्तन’ भन्दै आएका छन् । अन्तर्वार्ताहरूमा देशलाई राजा चाहिने तर्क गरे तापनि उनले ‘राजा को हुन्छ आफूलाई थाहा नभएको’ बताउने गरेका छन् ।
प्रसाईंको पृष्ठभूमि र राजनीतिक एजेन्डाको धरमरले गर्दा नै देशको प्रमुख राजावादी शक्ति राप्रपाले उनको अभियानलाई औपचारिकरूपमा समर्थन गरेको छैन । यद्यपि, पहिलो दिनको कार्यक्रममा राप्रपा कार्यकर्ताहरू स्वतस्फुर्तरूपमा सहभागी भएका थिए । राप्रपाका केही प्रभावशाली नेताहरू प्रसाईंलाई सघाउनुपर्ने पक्षमा रहे पनि अध्यक्ष राजेन्द्र लिङ्देन त्यसका लागि तयार भएनन् । लिङ्देन प्रसाईंलाई ‘बैंक ठग्नेले राजतन्त्र फर्काइदिन्छ भनेर पत्याउनुपर्ने ?’ भन्दै गरेको भाषण अहिले पनि चर्चामा छ ।
महाअभियान सुरू गर्नुअघि प्रसाईंले आफ्ना ८ वटा एजेन्डा प्रस्तुत गरेका थिए । त्यसमा राजसंस्थाको उच्चारण कतै पनि छैन । वैदिक सनातन धर्मसापेक्ष मुलुक स्थापनाका लागि आवाज उठाउनेमात्र भनेका छन् । अन्य एजेन्डाहरु गैरराजनीतिक छन् । प्रसाईंको अभियानका सहप्रवक्ता राजानन्द मान्डव्यले केही दिनअघि मात्रै पत्रकार सम्मेलनमा आफूहरू व्यवस्था परिवर्तन नभएर अवस्था परिवर्तनका लागि लडिरहेको बताएका थिए ।

प्रसाईं स्वयम्ले पनि एक अन्तरवार्तामा गोलमटोल कुरा गरेका छन् । व्यवस्था परिवर्तन गर्ने कुरा गरेपछि प्रसाईंलाई एक पत्रकारले सोधेका थिए, गणतन्त्रको ठाउँमा कुन तन्त्र ल्याउने त ? प्रसाईंले जवाफ दिए ‘जनतन्त्र’ ल्याउने । गणतन्त्रमा राजा राखेपछि त्यो जनतन्त्र हुने उनको तर्क छ । तर, राजा कसलाई बनाउने भन्नेमा उनले उही कुरा दोहोर्याए, ‘यो देशमा राजा को हुन्छ, प्रधानमन्त्री को हुन्छ, मलाई थाहा छैन । तर, यो व्यवस्था परिवर्तन हुनुपर्छ ।’
प्रसाईंले खुलेर पूर्वराजा ज्ञानेन्द्रको नाम लिन नसक्नुको कारण हो, पूर्वराजा स्वयम्ले उनको आन्दोलनलाई बेवास्ता गर्नु । उनी खासमा पूर्वराजालाई नै सडकमा उतार्न चाहन्थे । तर, पूर्वराजा यसका लागि तयार नभएपछि उनी दु:खी बनेका छन् । अहिले आएर आफूले राजसंस्थाको समर्थनमा यति ठूलो आन्दोलन गर्दा पनि कुनै रेस्पोन्स नदिएर पूर्वराजा राप्रपाको कार्यक्रममा झापा गएपछि प्रसाईं थप असन्तुष्ट बनेका छन् ।
दुर्गा प्रसाईंलाई नजिकबाट चिन्नेहरू उनले सार्वजनिक खपतका लागि मात्र भाषणमा राजाको कुरा गरिरहेको आँकलन गर्छन् ।
‘उहाँ नक्कली राजावादी हो । माओवादी र एमालेबाट आफ्नो व्यवसायीक स्वार्थ पूरा नभए पछि भिड बटुलेर दबाब दिनका लागि मात्रै राजसंस्थाको एजेन्डा बोकेको हुन सक्छ,’ विगतमा उनीनिकट रहेका एक कार्यकर्ता भन्छन् ।
प्रसाईंले पहिलो दिन उपत्यका बाहिरबाट मानिसहरू जम्मा गरेर ठूलै प्रदर्शन गर्न सफल भए । तर, त्यसपछिका दिनमा भने उनको भिड सुक्दै गएको छ । राजसंस्था समर्थकहरू नै विकर्षित भएपछि उनीसँग अब ऋण मिनाहाको आशामा पछि लागेका लघुवित्त पीडितमात्रै छन् । त्यसैले आन्दोलन नै जोगाउन गाह्रो परेपछि प्रसाईं फेरि राजसंस्थाको जोडदार वकालत गर्न थालेका छन् ।
हिजो एक युट्युव च्यानललाई दिएको अन्तवार्तामा प्रसाईंले आफू राजावादी नै भएको पुष्टि गर्ने प्रयास गरे ।
उनले भनेका छन्, ‘वैदिक सनातन धर्मसापेक्ष हिन्दू राज्य हुनुपर्छ, संघीयता खारेज हुनुपर्छ । त्यसपछि व्यवस्था परिवर्तन हुनुपर्यो । देशलाई बचाउने हो भने राजसंस्था चाहिन्छ, राजतन्त्र होइन । म क्लियर छु ।’
तर, तपाईंकै पार्टीका मान्छेले व्यवस्था होइन, अवस्थामात्रै परिवर्तन गर्ने हो भनिरहेका छन् नि भन्न् प्रश्नमा प्रसाईंले जवाफ दिए, ‘विचरा त्यो भाइले नबुझेर भनेको हो । मलाई सोध्नुर्थ्यो नि ।’
त्यसोभए राजा चाहीँ को हुनुपर्छ भन्ने प्रश्नमा उनले उही जवाफ दिएका छन्, ‘यो देशमा राजा को हुन्छ…प्रधानमन्त्री को हुन्छ.. हामीलाई थाहा छैन । तर, व्यवस्था परिवर्तन हुनुपर्यो ।’
यता, पूर्वराजाका संवाद सचिव फणिराज पाठकसँग प्रसाईं नेतृत्वको आन्दोलनका विषयमा प्रतिक्रिया माग्न उनले कुनै जवाफ दिन चाहेनन् ।
‘मलाई यो आन्दोलनका विषयमा केही पनि थाहा भएन । सडकमा कोको आन्दोलन गरिरहेका छन्, सबैलाई ध्यान दिएर साध्य पनि हुँदैन,’ उनले भने ।

Leave a Reply