बागमती प्रदेश सभामा पेश भएको स्वास्थ्य सेवा विधेयकमा कोक्यापका ११ बुदें सुझाव

काठमाडौं । बागमती प्रदेश सभामा पेश भएको बागमती प्रदेशको स्वास्थ्य सेवा विधेयकमा शान्तिका लागि साझा अभियान (कोक्याप)ले ११ बुदें सुझाव दिएको छ । कोक्यापले सोमबार काठमाडौंमा बागमती प्रदेश सभाका सांसद एवम सरोकारवालासंग छलफल गर्दै ११ बुदें सुझाव दिएको हो । सामाजिक विकास मन्त्रालयले प्रदेश सभामा पेश गरेको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक, २०८० को दफा ३४ मा गोपनीयता कायम राख्नुपर्ने प्रावधानमा गर्भवती महिलाको प्रजनन् स्वास्थ्यसंग सम्बन्धित सूचनाको सट्टा स्वास्थ्य सेवाग्राहीले लिएको सेवा, स्वास्थ्य प्रतिवेदन लगायतको तथ्यांकको गोपनियता कायम राख्नुपर्ने सुझाव दिएको छ ।

यस्तै मुल ऐनको दफा ५९ मा सेवा प्रदायकको कर्तव्य अन्तरगत उपदफा दुईपछि तीन थपेर बहिरा, सुस्तश्रवण, श्रवण दृष्टिविहीन, स्वर र बोलाई सम्बन्धी अपांगता भएका, मानसिक वा मनोसामाजिक अपांगता भएका र बौंद्धिक अपांगता भएको व्यक्तिको स्वास्थ्य सेवामा समान पहुंचका लागि आवश्यक प्रबन्ध गर्नेछ भन्ने राख्नुपर्ने सुझाव दिइएको छ । मुल ऐनको दफा ५९ मा सेवाप्रदायकको कर्तव्यमा सुनाई बोलाई तथा अन्य अपांगता भएका व्यक्तिलार्य स्वास्थ्य सेवाको सहज पहुंचबाट बञ्चित गरिने छैनन भन्ने थप्नुपर्ने पनि सुझाव दिएको छ ।

यस्तै दफा सातमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य संस्था वा अस्पतालले विद्युतीय माध्यमबाट निवेदन दिन र अनुमति प्राप्त गर्नसक्ने व्यवस्था मिलाउनेछ भन्ने राख्न पनि सुझाव दिइएको छ । यस्तै मुल ऐनको दफा ६ मा अनुसन्धान केन्द्र वा रिसर्च सेन्टर नाम राखेर दर्ता भएका स्वास्थ्य संस्थाले कम्तिमा वर्षको एक वटा स्वास्थ्य सम्बन्धी अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ भन्ने राख्न कोक्यापको सुझाव छ ।

कोक्यापले प्रदेश स्वास्थ्य सेवा विधेयकलाई संशोधन गर्दा जनस्वास्थ्य सेवा ऐन २०७५, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड (पहिलो संशोधन) २०७८ हेर्नुपर्ने पनि सुझाव दिएको छ ।

छलफलमा तथा अन्तरक्रिया कार्यक्रममा भाग लिदैं बागमती प्रदेश सभाका सांसद एवम शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति मिना पराजुली कोक्यापले दिएका सुझाव र छलफलमा उठेका विषयलाई सम्बोधन गर्नेगरी विधेयक संशोधन गर्ने प्रतिवद्धता जनाईन । छलफलमा सांसद एवम समितिका सदस्य विन्दु श्रेष्ठ, धनेश्व्री प्रजापती, रघुनाथ महर्जन, संगिता खड्गी, लक्ष्मी घिमिरे, सकुन्तला श्रेष्ठले आफनो धारणा राखेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *