काठमाडौँ । निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंसिर २० र २१ गते सम्मेलन गर्न लागिएको निर्वाचन आयोगले जनाएको हो ।
एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशिल गैरनाफामुलक तथा प्राज्ञिक संघ संस्थाका दुई सय जनाभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिको सहभागिता हुने गरी निर्वाचन आयोग नेपाल र स्वतन्त्र निर्वाचनका लागि एसियाली नेटवर्कको संयुक्त आयोजनामा दुईदिने एसियाली निर्वाचन सरोकार मञ्च (एईएसएफ)को छैठौं संस्करण आयोजना हुन लागेको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार सम्मेलनको मुख्य नारा ‘दिगो लोकतन्त्रको निर्माण ः निर्वाचनको चुनौती र अवसरको सम्बोधन’ रहेको छ ।
सम्मेलनको उद्घाटन मंसिर २० गते उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् भने समापन २१ गते परराष्ट्रमन्त्री एनपी साउँदले गर्नेछन् । सम्मेलनमा नेपाललगायत अन्य मुलुकका विज्ञ व्यक्तिबाट सात वटा विषयमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । दुईदिने सम्मेलनबाट निर्वाचन सुधार मार्फत लोकतन्त्रलाई सुदृढ गर्न र निर्वाचनको अखण्डतालाई प्रवर्द्धन गर्न काठमाडौं घोषणापत्र जारी गरिनेछ ।

Leave a Reply