विराटनगर । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको जीवनको अन्तिम भाषण बन्यो भदौ २३ गतेको धरानको सभा । एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रममा नेम्वाङले ‘पहिचानको ढुंगा खतरनाक हुँदोरहेछ’ भन्दै अध्यक्ष केपी शर्मा ओली र आफूलाई ताकेर कथित पहिचानवादीहरुले गरेको ढुंगा प्रहारप्रति व्यंग्य कसेका थिए त्यस दिन ।
त्यो अन्तिम भाषणसँगै नेम्वाङ त यो संसारमा रहेनन् । तर, एमालेका नेताहरुमाथि ‘पहिचानको ढुंगा’ बर्सिने क्रम भने रोकिएको छैन । आफूलाई पहिचान पक्षधर भन्ने जातीय संगठनमा आवद्ध व्यक्तिहरुले आइतबार एमाले सचिव योगेश भट्टराईलाई गृहजिल्ला ताप्लेजुङमा ढुंगा प्रहार गरे ।
‘पहिचानवादी’हरुको आक्रमणबाट भट्टराई सवार गाडी तोडफोड भएको छ । तर, आक्रमणकारी भने अहिलेसम्म पक्राउ नपरेको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले बताए । प्रहरी प्रशासनले आक्रमणकारीमाथि कुनै कारबाही नगरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताएका छन् ।
एमाले नेताहरुका अनुसार पहिचानवादी भन्ने अर्को कुनै दल वा संगठन छैन । उनीहरु सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका कार्यकर्ताहरु नै हुन् ।
एकाध संख्यामा नेकपा एसमा आवद्ध व्यक्ति छन् भने अन्य मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बूवान परिषद्लगायत दलमा आवद्ध व्यक्तिहरु नै आक्रमणमा संलग्न रहेको एमालेको भनाइ छ । संयोग नै मान्नुपर्छ, पहिचानको ढुंगा अहिलेसम्म एमाले नेताहरुमाथि मात्र बर्सिरहेकाले पनि आरोपमा आंशिक सत्यता देखिन्छ ।
एमालेको आरोप एक ठाउँमा राखौं । तर, गजब संयोग के पनि देखिन्छ भने कोशी प्रदेशमा पहिचानको आन्दोलन आह्वान र नेतृत्व गर्ने जातीय संगठनहरुमध्ये अधिकांशको अध्यक्ष कांग्रेसका जिम्मेवार नेता छन् । तर, आक्रमणकारी भनेर पक्राउ पर्नेहरु भने अधिकांश माओवादी र जसपाका भेटिने गरेका छन् ।
कोशीमा पहिचानको आन्दोलनको नेतृत्व आदिवासी जनजाति महासंघले आफैंले गरेको छ । महासंघको अध्यक्ष ग्याल्जे शेर्पा नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । ग्याल्जे रामेछापका कांग्रेस नेता हुन् ।
पहिचानको आन्दोलनको अग्रभागमा अहिले किराँत याक्थुम चुम्लुङको ब्यानर देखिन्छ । लिम्बूहरुको छाता संगठन याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन जसपाका नेता हुन् । इलामका कांग्रेस नेता येक्तेन पहिचानको आन्दोलनमा आफैं सक्रिय सहभागी छन् ।
पहिचानको आन्दोलनको अग्र भागमा रहेको अर्को संगठन हो किराँत राई यायोक्खा । यो संस्था सबै राईहरुको छाता संगठन हो । यसका अध्यक्ष जीवन हाताचो राई नेपाली कांग्रेसका नेता हुन् । ओखलढुंगाका नेता राई पछिल्लो समय उदयपुरमा बस्ने गरेका छन् ।
अर्को आन्दोलनकर्ता संगठन किराँत धर्म उत्थान संघ हो । यसका अध्यक्ष डाकेन्द्रसिंह थेगिम केही समयअघिसम्म एमालेमा आबद्ध थिए । तर, उनी पछिल्लो समय एमाले छाडेर जातीय राजनीतिमा लागे पनि कुनै पार्टीमा आवद्ध भइसकेका छैनन् । पहिचानवादीहरुको अलग्गै पार्टी खोल्ने अभियानमा उनी छन् ।
प्रत्यक्ष रुपमा यी संस्थाले आन्दोलनको आह्वान गरे पनि यसमा राजनीतिक दलहरुमध्ये गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कुमार लिङदेन नेतृत्वको संघीय लिम्बूवान परिषद्लगायतका दल पनि पहिचानको ढुंगा हान्नमा सक्रिय देखिन्छन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं एमाले नेता पासाङ शेर्पा भने पहिचानका नाममा सत्ता गठबन्धनमा आवद्ध दलहरुले एमालेमाथि आक्रमण गरिरहेको आरोप लगाउँछन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका शेर्पाले अहिले भइरहेको आन्दोलन पहिचानका लागि नभएर एमालेविरुद्ध मात्र रहेको बताए ।
शेर्पाले भने, ‘पहिचानको नाममा यिनीहरुले बदनाम गरिरहेका छन् । खासमा एमालेमाथि कसरी आक्रमण गर्ने भनेर सत्ता गठबन्धनका नेताहरुले पहिचानवादी भन्नेहरुलाई प्रयोग गरेका हुन् । उनीहरुको उद्देश्य पहिचान स्थापित गर्ने होइन एमालेलाई विस्थापित गर्ने हो । तर, त्यो पूरा हुँदैन ।’
आक्रमणबारे के भन्छन् पहिचानवादी नेता ?
याक्थुम चुम्लुङका अध्यक्ष यक्तेन पहिचान पक्षधरहरुको आक्रमण एमाले लक्षित नभएको बताउँछन् ।
उनी भन्छन्, ‘यस्तो परिस्थिति एमाले आफैंले निर्माण गरेको हो । ताप्लेजुङको घटनामा उहाँ (भट्टराई)ले कुनै समय पहिचान पक्षधरलाई आतंककारी भनेर टिप्पणी गर्नुभएको थियो । त्यसरी नकारात्मक तरिकाले बोलेपछि उहाँको विरोध भएको हो ।’
आफूहरुले भट्टराईलाई परिस्थिति अनुकूल नभएका कारण कार्यक्रम नगर्नुस् भनेको, तर उनीहरुले नमानेका कारण हिजोको अवस्था आएको उनी बताउँछन् । तर, पछिल्लो समय पहिचानवादीहरु हिंसात्मक हुनुको दोष भने राज्य र मिडियालाई लगाउँछन् यक्तेन ।
उनी भन्छन्, ‘हिजो ढुंगा हानेको घटना कार्यक्रम सकिइसकेपछिको हो । कार्यक्रमभरि त्यत्रो सयौं मान्छेले विरोध गरे, कसैले देखेन । न मिडियाले देख्यो न त राजनीतिकर्मीले देखे । शान्तिपूर्ण तरिकाले कुरा राख्दा यहीको स्थानीय पत्रिकाले पनि देख्दैन । हिजो ढुंगा नहानेको भए न मिडियाले देख्थ्यो न त राजनीतिकर्मीले देख्थ्यो ।’
आदिवासी जनजाति महासंघका अध्यक्ष शेर्पा भने एमालेले कोशी प्रदेश नाम राख्न निर्णायक भूमिका खेलेको र पहिचान पक्षधरलाई ललकार गरेका कारण उनीहरु निशानामा परेको दाबी गर्छन् । पहिचानवादीहरु विभिन्न दलमा आवद्ध भए पनि यो आन्दोलन पहिचानको लागिमात्र भएको दाबी उनको छ ।
अतिवादी पथमा अग्रसर हुँदै पहिचानवादीहरु
एक समय प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्छ भनेर पहिचानवादीहरु सक्रिय थिए । तर, प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेश १ लाई ‘कोशी’ प्रदेश नामकरण गर्यो । अझ रोचक त के थियो भने ९३ प्रदेशसभा सदस्यमध्ये ५६ जना आदिवासी, जनजाति, मधेसीलगायत समुदायका थिए । ३७ जनामात्रै खस-आर्य समुदायका थिए ।
तर, कोशी प्रदेशको नाममा दुई तिहाइ मत कसरी खस्यो ? यसको साधारण अर्थ हो- पहिचानवादी आन्दोलन कमजोर भएर गयो । पहिचानवादीहरुले यो निचोडलाई स्वीकार पनि गर्ने गरेका छन् ।
हिजो पहिचानको आन्दोलनलाई राजनीतिक हिसाबले हाँकेका राजकुमार लेखी, पासाङ शेर्पा जस्ता नेताहरु राजनीतिक करियर सुरक्षित बनाउन ठूला पार्टीहरुतिर लागे । अहिले उनीहरु दुवैजना एमालेको नेतृत्वमा छन् ।
अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता नेताहरु राजनीतिक करिअरलाई सुरक्षित अवतरण गराउनतिर लागे । परशुराम तामाङ, सुरेश आलेमगरहरुले पनि पहिचानको आन्दोलनलाई ठूला पार्टीहरुमा लगेर बिसर्जन गरे ।
यसपछि पहिचानको आन्दोलन नेतृत्वविहीन मात्रै बनेन, बाँकी बचेखुचेका नेता तथा कार्यकर्ताहरुले आआफ्नै तरिकाले पहिचानको आन्दोलनलाई अगाडि बढाउन थाले । आङकाजी शेर्पा जस्ता उग्र र अतिवादी विचार राख्ने, सामाजिक सद्भाव भड्काउन उद्यत हुने पहिचानवादीहरुको उदय भयो ।
हिजो जनयुद्धकालमै कोचिला, मिथिला, भोजपुरा, अवध र थरुहट, लिम्बूवान, किराँत, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, भेरी-कर्णाली र सेती महाकाली १३ प्रदेशको पार्टी संरचनाको अभ्यास गरेको माओवादी पनि पहिचानको आन्दोलनलाई लत्याएर हिँड्यो । कुमार लिङदेनको नेतृत्वमा भएको लिम्बूवान आन्दोलनले पनि किनारा पाउन सकेन ।
लिङदेन स्वयं अहिले पहिचानको आन्दोलनको दृश्यमा खासै छैनन् । नेतृत्वमा आएको विचलन, टुटफुटले पहिचानको आन्दोलन कमजोर बन्दै गएपछि अहिले अतिवादीहरुको कुण्ठा ओकल्ने भाँडो बनेको छ पहिचानको आन्दोलन । उनीहरु निश्चित नेता, पार्टीहरुलाई टार्गेट गरेर आक्रमण गरिरहेका छन् । उनीहरु निश्चित समुदायलाई आक्रमण गरेर सामाजिक सद्भाव खलबलाइरहेका छन् । उनीहरुको निशानामा मुख्यतया एमाले र यसका नेताहरु परिरहेको हो कि जस्तो लाग्ने गरी भट्टराईको गाडी तोडफोड गरियो ।
एमालेलाई लाग्ने गरेको ‘पहिचानविरोधी’ आरोपको विषयमा दिवंगत नेता नेम्वाङले युवा संघ नेपालको कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै स्पष्टीकरणसमेत दिएका थिए, ‘अब फल्गुनन्द किराँतीहरुको मात्र रहेनन्, उनी सिंगो देशको, सबै जाति, भाषा, धर्म, संस्कृतिका जनताको महागुरु भए । यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ? हिँड्ने क्रममा कहींकतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो । तर, पहिचानविरोधी भन्ने, ढुंगा हान्ने गर्न मिल्छ ?’
उग्र पहिचानवादीहरु चुनावमा किन ठूला दल नै रोज्छन् ?
गएको निर्वाचनमा समानुपातिक सूची बुझाएका ४७ दलमध्ये पहिचानको राजनीतिमा रुझान राख्ने दलहरु २० वटा थिए । उनीहरुले प्राप्त गरेको मत भने १५ लाख थियो । यो भनेको जसपा, लोसपालगायत मधेशवादी दलहरुको अधिकांश मत हो ।
यतिमात्रै होइन, पहिचानवादीहरु कति हदसम्म छिन्नभिन्न छन् भन्ने बुझ्न गएको निर्वाचनमा निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरु नै एउटा नजिर हो ।
पहिचानवादीहरुको कोर एरिया मानिने ताप्लेजुङ, पाँचथर, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, भोजपुरलगायत जिल्लामा एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु निर्वाचित भए । झनै लिम्बू बाहुल्य जिल्लाहरुमा निर्वाचनको मत परिणाम त लगभग एकल रुपमा एमालेको पक्षमा छ ।
यस्तो किन छ त ? चुम्लुङका अध्यक्ष यक्तेन डिफेन्सिभ सुनिन्छन्, ‘हिजो उहाँहरु (ठूला दलका उम्मेदवार) केही प्रतिबद्धता गरेर आउनुभएको थियो । तर, उहाँहरुले त्यो प्रतिबद्धतालाई लत्याउनुभयो । अहिले उहाँहरुलाई वंश गद्दारको ट्याग लगाइएको छ । बाँकी कुरा त पार्टी सिस्टमले ह्वीप निर्माण गरेका कारण हो । मत हाल्ने उनीहरुको व्यक्तिगत अधिकार पार्टीले हनन गरिदिएकाले पनि त्यस्तो परिस्थिति आएको हो ।’
ठूला दलमै रहे पनि आफूहरुको कुरा पार्टीले एड्रेस गर्छ भन्ने लागेकाले पहिचानवादीहरु ती पार्टीमा रहेको तर, गएको फागुन १७ गते कोशी प्रदेशको नामकरण भएपछि राजनीतिक अवस्था बदलिएको यक्तेनको विश्लेषण छ । अब आउँदो निर्वाचनमा यसको परिणाम पनि देख्न सकिने उनी बताउँछन् ।
यक्तेन भन्छन्, ‘मेरो विश्लेषणमा अहिले कांग्रेस, एमालेलगायत पार्टीको डिक्लाइनिङ पोजिसन हो । अहिले पार्टी पंक्तिसँग जनता सन्तुष्ट छैनन् । त्यसैले नयाँ पार्टीहरुको पनि उदय भइरहेको छ ।’
उपप्राध्यापक बालकृष्ण माबुहाङ पनि किराँत वा लिम्बूवान नामकरण गर्नुपर्छ भनेर एमालेले भनेकाले उसलाई पनि पहिचान पक्षधरको मत गएको कारण त्यसमाथि अहिले मान्छेले एमालेलाई प्रश्न गरिरहेको बताउँछन् ।
ढुंगामुढामा उत्रनु हुन्न : उपप्राध्यापक माबुहाङ
युगौंदेखि उपेक्षित, अपहेलित अनि बहिस्कृतहरुका मुद्दा जति छन्, ती चाहिँ राज्यको संयन्त्रहरुमा मुखरित हुनुपर्छ भन्ने पहिचानको मुद्दा हो । त्यसलाई वैधानिक प्रक्रियाबाट राज्यले सम्बोधन गर्नुपर्छ भन्ने पहिचानवादीहरुको आग्रह हो । त्यो आग्रहलाई मुख्य राजनीतिक दलका नेताहरुले चुनौती दिने गरी काम गरिरहेका छन् । विशेष गरेर नेकपा एमालेले गरिरहेको देखिन्छ ।
पहिचानको कुरा गर्नेलाई तिमीहरु केही होइनौं, तिमीहरुसँग जनमत छैन, जे गर्न सक्छौं गर भनेर राष्ट्रिय राजनीतिको मूलधारका पार्टीहरुले भन्दा एउटा व्यक्ति आततायी बन्नसक्छ । एमाले जस्तो राज्य सञ्चालनमा आइसकेको पार्टीको योगेश भट्टराई जस्ता सांसदले पहिचानवादीहरुलाई ललकारे । हामीले ९० प्रतिशत मत ल्याएर नाम राखेका हौं, तिमीहरुको दम छ भने ९० प्रतिशत मत ल्याएर राख भनेर उनीहरुलाई ललकारेर सामान्य मान्छेलाई उद्दण्ड बनाउनुहुन्न । तर, पहिचानवादीहरु पनि लोकतान्त्रिक विधि र प्रक्रिया हुँदाहुँदै ढुंगामुढामा उत्रनुहुन्न । यदि त्यसरी उत्रन्छन् भने ऊ गलत पहिचानवादी हो । उग्रवादी हो ।

Leave a Reply