बबरमहलमा पेलिकन प्रणाली: २ मिनेटमा एक पटकमात्रै बटन थिच्न मिल्ने, खर्च ७ लाख ६४ हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले बबरमहलमा जडान गरेको अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) प्रणाली सञ्चालनमा आइसकेको छ । जेब्रा क्रसतिर हरियो र सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो ।

परीक्षण सफल भएपछि सार्वजनिक स्थलमा पनि नमुना परीक्षण गर्ने योजनाअनुसार बबरमहलमा यो प्रणाली जडान गरिएको हो । बबरमहलमा दुर्घटनाबाट बचाउने प्रणाली चाहिएको थियो । प्रणाली शुभारम्भको अवसरमा काठमाडौं महानगरको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘यसबाट पैदल यात्राको सुरक्षामा नयाँ आयाम थपिएको छ ।’

महानगरपालिकाका सडक सुरक्षाविज्ञ प्रशान्त खरेलका अनुसार सडकको चौडाइ धेरै भएकाले बबरमहलमा ४ वटा पोल राखिएका छन् ।

‘पैदल यात्रीले स्वीच थिचेको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ । यसलाई ४० सेकेण्ड बनाउने हो कि भन्ने छलफल भइरहेको छ’, खरेल भने, ‘पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको २ मिनेटपछि मात्रै पैदल यात्रीले फेरि बटन थिच्न सक्छन् । अर्थात् २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि हरियो बत्ती बाल्न सकिन्छ ।’

यसबाट प्राप्त नतिजाको आधारका महानगरपालिकाले ३६ वटा विद्यालय क्षेत्रमा यो प्रणाली विकास गर्ने योजना बनाएको छ । खरेलले भने, ‘यसका २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकालाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका)लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस् ।’

बबरमहलमा राखिएको प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । २ वटामात्र पोल राख्ने हो भने ५ लाख ४० हजार रुपैयाँ लागत पर्ने महानगरपालिकाले जनाएको छ । बबरमहलको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट बिजुली ल्याइएको छ ।

यस क्षेत्रमा पैदल यात्रुको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रु दुर्घटनामा पर्ने गरेका छन् । प्रणाली जडान भएपछि पैदल यात्रुले सवारीसाधन रोकेर सडक पार गर्ने अवसर पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *