काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं विश्वविद्यालय (केयू)द्वारा आयोजित राष्ट्रिय उपकुलपति सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्न सम्मेलन महत्वपूर्ण रहेको बताए ।
‘विश्वविद्यालय अनुदान आयोगअन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधान तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्’, उनले भने ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्च शिक्षालाई सुदृढ गर्न आवश्यक रहेको बताइन् ।
उनले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्नेमा जोड दिइन् । ‘सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयका प्रावधानहरू निर्माण गरेरमात्र यस्तो लक्ष्य प्राप्त गर्न सम्भव छ’, उनले भनिन् ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तहमा शिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
उनले विश्वभरका नीतिविद्, विश्वविद्यालयका अधिकारी र विद्वानहरुको भेला हुनु नेपालको उच्च शिक्षालाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताए ।
विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्नेतर्फ जोड दिए ।
विश्वविद्यालयका रजिष्ट्रार अच्युतप्रसाद वाग्लेले उच्च शिक्षाका पेशाकर्मीमाझ पेशागत इमानदारी र नैतिक जिम्मेवारी हुनुपर्ने बताए ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले सम्मेलनले नेपालमा उच्च शिक्षाको सुदृढीकरण र अन्तर्राष्ट्रियकरणका लागि उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे ।
सम्मेलनमा सहभागी उपकुलपतिहरुले नेपालका विश्वविद्यालयहरुले भोगिरहेका संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गर्नेछन् । उनीहरुले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीको निरन्तर पलायनको समस्यालाई सुल्झाउने कार्ययोजना विकास गर्ने प्रतिबद्धता जनाएको छन् ।

Leave a Reply