जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रम आजबाट सुरुवात गरिएको छ ।
युनेस्को काठमाडौं, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्यमा सुरु भएको कार्यक्रममा जाजरकोटका २२ जना क्रियाशील पत्रकारको सहभागिता रहेको छ ।
जाजरकोटपछि रुकुम पश्चिममा पनि यो कार्यक्रम सञ्चालन हुनेछ ।
भूकम्प प्रभावित पत्रकारलाई सीएमसी नेपालका मनोविद् गोपाल बोहराले भूकम्पपछि शारीरिक तथा मानसिक रूपमा देखिने परिवर्तन, यस्तो अवस्थाको सामनाका लागि अपनाउनुपर्ने सावधानीलगायतका बारेमा जानकारी गराएका छन् ।
आजको अन्तरक्रियामा सहभागी पत्रकारमध्येबाट मानसिक रूपमा कमजोर पत्रकारलाई अर्को चरणको मनोविमर्शका लागि छनोट गरिने उनको भनाइ छ ।
पत्रकारहरूले भूकम्पपछि आफूहरूले गरेको अनुभव, अफ्ठेरोको बारेमा अनुभव सुनाएका थिए ।
रिपोर्टिङसँगै उद्धारमा पनि आफूहरू खटिएको स्मरण गर्दै उनीहरूले अझैँ पनि कात्तिक १७ गतेको रातिको भूकम्पको दृश्य सम्झेर मानसिक रूपमा विक्षिप्त हुने गरेको उनीहरूले बताए ।
विपद्को समयमा फैलन सक्ने अफवाह, गलत सूचना, नियन्त्रण तथा विपद्पछिको समाचार संकलन रणनीतिको बारेमा सीआईएनका कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले सहभागी पत्रकारसँग कार्यक्रममा छलफल गरे ।
भूकम्पपछि पनि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमले प्रभावित नागरिक, सरकारी तथा गैरसरकारी निकाय र सहायताकर्मीहरूलाई कसरी जोड्न सक्छन् भन्ने बारेमा उनले जानकारी गराए ।
कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले भूकम्पका कारण घरबारविहीन भएका, समाचार सङ्कलन सामग्रीमा क्षति पुगेका पत्रकारमा कामप्रतिको मोह घट्दै गएको समयमा उनीहरूका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग र क्षमता बढाउने कार्यक्रम चलाउनु सकारात्मक रहेको धारणा राखे ।
उनका अनुसार जाजरकोटमा भूकम्पका कारण ४६ जना पत्रकार प्रभावित छन् । तीमध्ये जिल्लाका ५ वटा सामुदायिक रेडियोमा आबद्ध २४ जना छन् ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा प्रभावित नागरिकलाई मनोपरामर्श तथा क्षमता अभिवृद्धि कार्यक्रम करिब १ महिना सञ्चालन हुनेछ ।

Leave a Reply