प्रधानमन्त्रीलाई प्रदीप पौडेलको आग्रह- सत्ता लिप्सामा होइन, नागरिकको रक्षामा ध्यान दिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको ध्यान नागरिक भन्दापनि सत्तालिप्सामा धेरै भएको टिप्पणी गरेका छन् । भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा पनि कार्यान्वयन नभएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘हामी जाजरकोटमा छौं । यहाँको अवस्था अत्यन्तै नाजुक छ । अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । धेरै जसो परिवार सँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थाई टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन ।’

नागरिकलाई चिसोबाट जोगाउन अस्थायी टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन । यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ ।’

थोरै समय निकालेर भए पनि नागरिकको जीवन रक्षा गर्ने आग्रह गरे ।

उनले भने, ‘एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ । मंसिर ७ को चटारोले सरकारलाई भ्याई नभ्याई नै होला । थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गर्दछु । यस विषयलाई पहिलो प्राथमिकतामा राखेर अत्यन्तै गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई सचेत समेत गराउँछु ।’

भूकम्प प्रभावितलाई १ हजार अस्थायी संरचना निर्माण गर्नको लागि कांग्रेसको नेतृत्व गरेर नेता पौडेल अहिले त्यहाँ खटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *