सामाजिक सद्भाव बिथोल्न खोज्नेलाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडौं । प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनले सामाजिक सद्भाव बिथोल्न खोज्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले समसामयिक विषय सरकारको ध्यानाकर्षण गराउदैँ सरकारलाई चनाखो बन्न आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (एमाले) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन नेपाल र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने षड्यन्त्र वा कुनै पनि खाले अतिवादको नियन्त्रण गरेर सामाजिक सद्भाव बिथोल्न उद्दत तत्वलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने जस्ता विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् ।

बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी बन्धक बनाइएका मध्येका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल स्वदेश ल्याउन सरकारले उच्च स्तरीय कुटनैतिक पहलकदमी लिनुपर्ने, जाजरकोट र रुकुम (पश्चिम)मा गएको विनाशकारी भूकम्पका कारण विद्यार्थीको पठन–पाठन ठप्प भई उनीहरुको शैक्षिक भविष्य अन्योलग्रस्त बन्ने खतरा बढेकोले भत्किएका विद्यालयको भौतिक संरचना निर्माणको कामलाई तिव्रता दिनुपर्नेमा जोड दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन भुलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार त्रिभुवन विश्वविश्वविद्यालयमा रिक्त उपकुलपति लगायतका पदाधिकारी एवं आवश्यक अन्य जनशक्ति योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धामार्फत छनौट गरिने व्यवस्था मिलाइनुपर्ने र ‘विद्यालय शिक्षा विधेयक, २०८०’लाई संविधानमा उल्लेख गरिएको निःशुल्क, व्यवहारीक र समाजवादी शिक्षा पद्धतिको मर्मलाई आत्मसात हुने गरी अघि बढाउनु पर्नेमा पनि जोड दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *