प्रेम चलाउनेको मुद्दा हेर्दाहेर्दैमा, भोलि आउला फैसला ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा फैसला सुनुवाइ सुरु भएको छ । दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो । भोलि बहस सकिएर फैसला आउन सक्ने आशा भए पनि मुद्दामा राजनीतिक चलखेलको प्रयास जारी रहेकाले निश्चिन्त हुने अवस्था छैन । फेरि कुनै बहाना बनाएर मुद्दालाई पछि धकेल्न सक्ने त्रासमा वादी पक्ष रहेका छन् ।

इजलास नम्बर २६ मा भएको आजको सुनुवाइमा चलाउनेको पक्षबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, बसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गरेका थिए ।

यस्तै सरकारी वकिलहरु चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गरेका छन् । प्रतिवादीको तर्फबाट योगेन्द्रबहादुर अधिकारी, शेरबहादुर केसी, दयानाथ खरेल, उज्ज्वलराज घिमिरेलगायतले बहस गरेका थिए । बाँकी वकिलहरुले भोलि बहस गर्नेछन् ।

यसअघि गत असोज ९ गते फैसला सुनुवाइ सुरु भएको थियो । तर, न्यायाधीश उत्तम सिलवालले डाक्टर बोलाउने आदेश दिएर फैसलालाई धकेलिदिएका थिए । प्रतिवादीका वकिलको बहस सुनेपछि न्यायाधीशले चलाउनेको उपचार गर्ने डाक्टरलाई अदालतमा भौतिक रुपमै उपस्थित गराउने आदेश गर्दै सुनुवाइ स्थगित गरिदिएका थिए । सो आदेशअनुसार समबन्धित डाक्टरले अदालतमा आएर बकपत्र गरिसकेका छन् ।

त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते सांघातिक आक्रमण भएको थियो । सख्त घाइते अवस्थामा उनलाई मेडिसिटी अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । इमर्जेन्सीका चिकित्सक डा. सनित सिंहले सामान्य उपचार गरेर विशेषज्ञ डाक्टरकोमा पठाइदिए । अर्थोपेडिक डिपार्टमेन्टका डा. शिशिर लाखे नेतृत्वमा पाँच डाक्टरको टीमले उनको मेकअप फ्युमर (कम्मरमुनिको हड्डी)को पहिलो शल्यक्रिया गरेको थियो ।

चलाउनले आफ्नो उपचारमा करिब १८ लाख रुपैयाँ खर्च गरिसकेका छन् । त्यसमध्ये ३ लाख रुपैयाँ त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको हो भने बाँकी आफ्नै निजी खर्चबाट उपचार गराइरहेका छन् । डाक्टरहरुले उनको तेस्रो शल्यक्रिया पनि गर्नुपर्ने बताएका छन्, जसका लागि १० लाख रुपैयाँभन्दा बढी लाग्ने बताइएको छ ।

आफूमाथि आक्रामण भएको केही दिनमा नै चलाउनेले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले गत ९ साउनमा यो मुद्दालाई यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालतलाई आदेश गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *