दुर्गा प्रसाईंले कति मान्छे काठमाडाैं ल्याए ? प्रहरी भन्छ ४ हजारजति

काठमाडौं । राजतन्त्र ब्युँताउने एजेन्डासहित बिहीबार काठमाडौंमा कार्यक्रम गर्न लागेका दुर्गा प्रसाईले कति मान्छे उतार्छन् भन्ने चासो बढ्दो छ । उनले ५ लाखलाई उतार्ने दाबी गरेका थिए ।

काठमाडौं आउनका लागि एकै व्यक्तिले १६ सय वटा बस बुकिङ गरिदिएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर सुरक्षा निकाय स्रोतका अनुसार बुधबार साँझसम्म करिब ४ हजारको संख्यामा प्रसाई समर्थक काठमाडौं भित्रिएका छन् । उनीहरु विभिन्न पार्टी प्यालेस, बैक्वेट र होटलहरुमा बसेको प्रहरी उच्च स्रोतले बतायो ।

‘प्रदर्शनकारीहरु बस्ने भनेको पार्टी प्यालेस, बैंक्वेट र होटलहरुमै हो । हाम्रो सूचनाअनुसार करिब ३५००/४००० को संख्यामा उनीहरु भित्रिएको हुनुपर्छ’, प्रहरी स्रोत भन्छ । बिहीबार बिहानसम्म प्रदर्शनकारीको संख्या यकिन हुने ती प्रहरी उच्च अधिकृत बताउँछन् ।

‘अहिले साँझ बस चढेकाहरु भोली बिहानसम्म काठमाडौं प्रवेश गर्छन्। त्यसैले अहिले नै यकिन गर्न सकिँदैन’, ती अधिकृत भन्छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख पोषराज पोखरेलले अतिरिक्त बसहरु नभित्रिएको बताए ।

‘दशैँ अघि जसरी गाडीहरु काठमाडौंबाट बाहिर जान्थे त्यसैगरी गाडीहरु भित्रिरहेको देखिन्छ । तर ती सबै रुटकै गाडीहरु हुन् । अन्य गाडीहरु आएका छैनन्’, उनले भने । प्रहरीले प्रसाईको कार्यक्रममा बढीमा २० हजारसम्म सहभागी हुन सक्ने अनुमान गरेको छ ।

काठमाडौं उपत्यकाभित्रै रहेका मानिसहरु पनि सहभागी हुन सक्ने भएकाले प्रहरीले त्यो संख्या अनुमान गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताहरुले प्रसाईको यस कार्यक्रमप्रति एक्यबद्धता जनाएकाले राजसंस्था पक्षधर र राप्रपाकै कार्यकर्ता पनि सहभागी हुन सक्ने सुरक्षा निकायको आँकलन गरेको छ । सूचना संकलनका लागि नेपाल प्रहरीदेखि शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले आफ्ना कर्मचारीलाई सादा पोषाकमा परिचालन गरिसकेको छ ।

प्रसाईको कार्यक्रमलाई काउन्टर दिँदै नेकपा एमालेनिकट युवा संघले पनि बिहीबार नै कार्यक्रम राखेकाले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एकअर्काप्रति भड्कीलो अभिव्यक्ती दिइरहेकाले सम्भावित परिस्थितीलाई ध्यानमा राखेर युवा संघलाई तीनकुने र प्रसाई समूहलाई बल्खुमा कार्यक्रम आयोजना स्थल तोकेको छ । काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकिएको छ ।

काठमाडौं जिल्ला प्रहरी कार्यालयले मात्र करिब २५ सयको संख्यामा आफ्ना मातहतका प्रहरी परिचालन गर्दै छ । सशस्त्र प्रहरीले पनि करिब १५ सयको संख्यामा उतार्ने बुझिएको छ । त्यसबाहेक थप मदतका लागि पनि तयारी अवस्थामा राखिने काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा जिल्लास्तरीय कमान्ड सेन्टर र काठमाडौं उपत्यकामा संयुक्त कमान्ड सेन्टर बनाइएको छ। उपत्यकास्तरीय कमान्ड सेन्टरको नेतृत्व प्रहरीका डीआईजीले गर्नेछन् ।

जिल्लास्तरीय कमान्ड सेन्टरमा पनि सबै सुरक्षा निकायका अधिकारीहरु रहनेछन् । डीआईजीको कमान्डमा रहने कमान्ड सेन्टरले सुचनाहरुको विश्लेषण गरी आवश्यक निर्देशन दिने र समन्वय गर्ने बुझिएको छ । प्रहरीले प्रदर्शन स्थलमा ड्रोनमार्फत अनुगमन गर्ने छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *