चितवन । भरतपुर महानगरले भ्रमण वर्ष २०२४ प्रचार गर्न काठमाडौंमा अन्तरक्रिया गरेको छ । महानगरले सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्य मन्त्री सुशीला श्रीपालीको उपस्थितिमा काठमाडौंका सरोकारवालासँग छलफल गरेको हो ।
सो कार्यक्रममा भरतपुर भ्रमण बर्ष २०२४ ले देशमा पर्यटकीय माहोल सृजना गर्ने सरोकारवालाले बताए ।
अन्तरक्रियामा पर्यटन सम्बद्ध व्यक्तिहरुले पर्यटन र समग्र अर्थतन्त्रको चलायमान बनाउन भरतपुर भ्रमण बर्षको भूमिका हुने बताएका हुन् ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले पर्यटनको चलायमान बनाउन भरतपुरले सुरु गरेको अभियानमा पर्यटन मन्त्रालयले पूर्ण रुपले साथ दिने बताइन्। अर्थतन्त्र लयमा ल्याउन पनि पर्यटकीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने उल्लेख सरकारले आर्थिक र नैतिक हिसाबले साथ दिने बताइन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले भरतपुर भ्रमण वर्षकै अवसरमा मेघौलीमा हात्तपोलो सुरु गर्न पहल गर्ने बताए । डा रेग्मीले अन्तर्राष्ट्रिय जंगल सफारी मार्ट पर्यटन बोर्डकै नेतृत्वमा गर्ने तयारी गरेको जानकारी दिए। उनले चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल संचालन गर्न सरकार तयार हुनुपर्ने समेत बताए ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाका महासचिव कुमार थपलिया र उद्योग बाणिज्य महासंघ पर्यटन समिति संयोजक अशोक गुँरागाईले भरतपुर भौगोलिक रुपमा पनि मध्यभागमा रहेकोले भ्रमण बर्ष सुस्ताएको पर्यटन उकास्नको लागि कोशेढुङ्गा सावित हुने बताए ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण बर्षले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्याउने भएकोले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए । उपप्रमुख अधिकारीले सन् २०२४ भित्र सरकारी तथा गैरसरकारी संस्थाका राष्ट्रिय स्तरका कार्यक्रम भरतपुरमा गर्दा महानगरले सहयोग गर्ने नीति लिएको उल्लेख सबै पक्षलाई भरतपुरमा कार्यक्रम गर्न आह्वान गरे ।
भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले भरतपुरको पर्यटन र यहाँका संभावनाका बारे जानकारी दिए। सुवेदीले चितवन इको टुरिजमका लागि देशकै पहिलो स्थानमा रहेको उल्लेख गर्दै सबै पक्षको सहयोगमा भरतपुर भ्रमण बर्ष सफल हुने बताए । भ्रमण बर्षका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक सोम सापकोटाले सन् २०२४ मा उल्लेख्य पर्यटन चितवन भित्र्याउन हाल ५४ राष्ट्रमा प्रचार अभियान जारि रहेको जानकारी दिए ।
भरतपुर महानगरले विशेष समारोहको आयोजना गरि अब छिट्टै भरतपुर भ्रमण बर्ष २०२४ को विधिवत शुभारम्भको तयारी गरेको छ । २०२४ सदस्यीय मूल समारोह समिति,कार्य सम्पादन समिति र विभिन्न उपसमिति गठन गरि भ्रमण बर्षको तयारीका काम भइरहेको महानगरले जनाएको छ ।

Leave a Reply