दुर्गा प्रसाईको चुनौती : गणतन्त्र-संघीयतामा जनमतसंग्रह गराउने दम छ ?

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । उनले यो व्यवस्था परिवर्तन गरेर छोड्ने अठोट समेत व्यक्त गरे ।

आज आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईं मुलधारका राजनीतिक दल, खासगरि एमालेमाथि खनिएका थिए । हिजो एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको देखि पुरानो राष्ट्रिय गान गाएको विषयमा आफूविरुद्ध प्रहरीमा जाहेरी दिइएको घटनासम्ममा उनले एमालेमाथि रोष पोखेका थिए ।

महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उनले माग गरे ।

‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’ प्रसाईंले प्रश्न गरे ।

राष्ट्रिय गानको प्रसंगमा उनले आफू गलत नभएको बताए ।

‘मलाई केही नपाएर राष्ट्रिय गानको विषयमा मुद्दा हालेछन् । लाहानमा मलाई बोलाएर मुख्य अतिथि बनाए । श्रीमान गम्भीर नेपाली गाए । मेरो के गल्ति ? बज्यो धुन । आयोजक कमिटीलाई मुद्दा हाल्नु नि । त्यो राष्ट्रिय गान हिजो उनीहरुले नै सुनेर आएको होइन ? प्रचण्डले स्कुलमा गाएको होइन ? अहिले छिछि र दुरदुर गर्नुपर्छ ? गणतन्त्रमा अधिकार पनि त होला नि’, उनले भने ।

प्रसाईंले आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा व्याख्या गरे ।

उनले भने, ‘यो लडाईं जित्यौं, हामी बाँच्यौं, यो लडाईं हार्यौं हामी मर्यौं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो ।’ प्रसाईले अहिल्यै मध्यावधि चुनाव गर्न पनि चुनौती दिए ।

‘ल एउटा काम गरौं न । अहिले मध्यावधि चुनाव गराउँ । कार्यकारीप्रधानमन्त्री जनताले चुनेको बनाउँ । राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा जनमतसंग्रह गराउने दम छ यिनीहरुसँग ? गराएर देखाउ । यिनीहरुको एक भोट आउँदा मेरो ९९ सय भोट आउँछ’, प्रसाईंले भने ।

आफ्नो व्यक्तिगत ऋणका विषयमा भइरहेका चर्चामाथि पनि उनले टिप्पणी गरेका थिए । आफूसँग ऋण थाम्ने धितो बैंकमा रहेकाले ऋण तिर्न नसके बैंकले धितो लैजाने उनले बताए ।

‘बैंकमा धितो राखेर ऋण लिएको हो । ऋण तिर्न नसके बैंकले लैजान्छ । अरुलाई केको चिन्ता ?’, प्रसाईंले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *