काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घरटहरा बनाउन नेपाली कांग्रेसले स्वयंसेवक परिचालन गर्ने भएको छ । महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टी पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रूकुम (पश्चिम) मा श्रमदान गर्नेसम्बन्धी ६ बुँदे निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
अस्थायी घर टहरा निर्माणका लागि पार्टीबाट खटिने स्वयंसेवकका लागि श्रमदानसम्बन्धी कार्यविधिसमेत तयार गरिएको छ ।
कांग्रेसले अस्थायी घर टहरा निर्माणका लागि एक निर्माण विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह पठाउने भएको छ । उक्त समूहले एक हप्ता काम गरिसकेपछि अर्को १३ वटा समूहले प्रतिस्थापन गर्ने बताइएको छ ।
प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सक परिचालन गरेर सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर चलाउने, नेविसंघले अस्थायी विद्यालय र दुईवटा स्थायी पक्की विद्यालय निर्माणमा श्रमदान गर्ने, नेपाल ट्रेड युनियन कांग्रेसले असहाय परिवार तथा श्रमिकको पुन:स्थापनामा सहयोग गर्ने पनि कांग्रेसले निर्णय गरेको छ ।



Leave a Reply