वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आव्हान

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको छ ।

बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आव्हान गरेको हो ।

वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची एक बमोजिम आगामी पुस आठ गतेभित्र निवेदन दिन सकिने जनाइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्व प्राथमिक कक्षा, नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्ममा अध्ययरनरत १८ वर्ष मुनीका बालबालिकाले निवेदन दिन पाउने बोर्ड सचिवालयले जनाएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउनेछन् ।

बोर्डबाट वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिदैँ आएको छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रुपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने बोर्डले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *