काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते गर्ने कार्यक्रमलाई लिएर देशको प्रमुख राजावादी शक्ति राप्रपामा दुई धार देखिएको छ । संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास र संशय व्यक्त गरिरहँदा एकथरि नेताहरुले खुलेरै उनको अभियानलाई समर्थन र ऐक्यबद्धता जनाएका छन् ।
राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आज एक विज्ञप्ति नै जारी गरेर प्रसाईंको भेलामा पार्टीको नैतिक समर्थन र सहयोग रहनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान/जनप्रदर्शन/संघर्षमा राप्रपाका कार्यकर्ताहरुको सहानुभूति र समर्थन स्वाभाविक हुन आउँछ । अतः मंसिर ७ २०८० मा हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनुहुँदैन भन्ने मेरो स्पष्ट धाराणा छ ।’
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको विचार पनि डा. लोहनीसँग मिल्दोजुल्दो छ । उनले सामाजिक सञ्जालमार्फत प्रसाईंको अभियानप्रति समर्थन जनाएका छन् ।
मिश्रले फेसबुकमा लेखेको लामो स्टाटसको अंश यस्तो छः
‘…यस्तो समयमा पनि एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको देख्छु/सुन्छु । त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ ? कसैको कारणले कसैको कार्यक्रम बिग्रिँदैन । हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ । पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन/जोगाउन ‘कट्टर दुश्मन’ हरू सहकार्य गर्न सक्ने, राजसंस्थावादीहरू नसक्ने ? अनि झन त्यसमा पनि गाली गरेर बस्ने ? यस्तै पाराले लक्ष्यमा पुगिन्छ ?
‘मै सबैभन्दा ठूलो राजसंस्थावादी, अरू त केही होइनन्’ भनेर देखाउन खोजेको हो भने, भिन्दै कुरा । अन्यथा, ‘विनाशकारी अग्रगमन’ को विशाल चट्टान फुटाउनु छ । आफैं-आफैं बाझेर आआफ्ना अहम् पूरा होला । तर, उद्देश्य प्राप्ति हुँदैन । त्यसैले सकिन्छ, सहकार्य गरौं । सकिँदैन, सहयोग गरौं । सहयोग पनि गर्न मन नलागे असहयोग नगरौं । र, सार्वजनिक रूपमा एकले अर्कोलाई हियाउने र ‘म चाहिँ असल, ऊ चाहिँ कमसल’ भन्ने काम नगरौं ।’
दुई वरिष्ठ नेता यसरी खुलेर आए पनि राप्रपाले आधिकारिक रुपमा प्रसाईंको कार्यक्रमलाई लिएर कुनै आधिकारिक धारणा बनाएको छैन । अध्यक्ष राजेन्द्र लिङदेनन पूर्वराजा ज्ञानेन्द्र सहभागी हुने कार्यक्रमको तयारीका लागि गृहजिल्ला झापामा छन् । अन्य नेताहरुले मुख खोलेका छैनन् ।
अध्यक्ष लिङदेनलगायत राप्रपा संस्थापन पक्ष प्रसाईंप्रति सकारात्मक छैन । विगतमा लिङदेन र प्रसाईंबीच सार्वजनिक वाकयुद्धसमेत चलेको थियो । प्रसाईंले मेची पुलमा गरेको कार्यक्रममा पूर्वराजाकै उपस्थितिमा लिङदेनलाई गाली गरेका थिए । त्यसयता पनि उनले पटक पटक लिङदेनप्रति अपमानजनक भाषा प्रयोग गर्दै आएका छन् ।
हालै एक पत्रकार सम्मेलनमा प्रसाईंले लिङदेनलाई ‘ओलीको असल धर्मपुत्र’ संज्ञा दिएका थिए । लिङदेनले पनि विगतमा प्रसाईंलाई लक्षित गर्दै ‘बैंक ठग्नेले राजतन्त्र ल्याइदिन्छ भनेर पत्याउने ?’ भन्दै कटु टिप्पणी गरेका थिए ।
प्रसाईंले अहिले गर्न लागेको जनप्रदर्शनमा राजसंस्था पुनःस्थापनको घोषित एजेन्डासमेत नरहेको राप्रपा संस्थापन पक्षको बुझाइ छ ।
लिङदेन निकट एक नेता भन्छन्, ‘यो आफैंमा संदीग्ध अभियान हो । उहाँहरुको ब्यानरमा राजतन्त्र पुनःस्थापनाको एजेन्डा देखिएको छैन । व्यक्तिगत स्वार्थपूर्तिका लागि मानिसहरुलाई मूर्ख बनाउन खोजिएको छ । यसमा राप्रपाको कुनै संलग्नता हुँदैन ।’
उनले भने जस्तै प्रसाईंको ब्यानरमा राजसंस्था वा हिन्दू राष्ट्र पुनःस्थापनाको एजेन्डा उल्लेख गरिएको छैन । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ मात्र लेखिएको छ । यद्यपि, प्रसाईंले कार्यक्रमको घोषणा गर्दा व्यवस्था परिवर्तनकै लागि भएको बताएका थिए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठ प्रसाईंको अभियानलाई लिएर पार्टीले कुनै संस्थागत निर्णय नलिएको बताउँछन् । राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रका लागि ‘निःस्वार्थ रुपमा’ गरिने कुनै पनि आन्दोलनप्रति पार्टीको नैतिक समर्थन र सदासयता रहन्छ । तर, किन्तु परन्तु गरेर जनतालाई लट्पटाउन खोज्नेहरुसँग हामी सतर्क छौं । साथै राप्रपा र राप्रपा नेतृत्वलाई लान्छित गर्ने पात्र र प्रवृत्ति हामीलाई स्वीकार्य हुनेछैन ।’
स्वार्थ प्रेरित अभियानहरुमा पार्टी नजोडिने उनले बताए ।
श्रेष्ठले थपे, ‘राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा निरन्तर रुपमा उठाउने एउटै शक्ति राप्रपा हो । राजसंस्थाको नारा लाग्ने कार्यक्रममा हाम्रा कार्यकर्ताहरु जान सक्लान् । तर, स्वार्थप्रेरित अभियानमा पार्टीगत उपस्थिति रहँदैन ।’
प्रसाईंको अभियानलाई लिएर पार्टीभित्र कुनै मतभेदको अवस्था नरहेको उनले दाबी गरे । जिम्मेवार नेताहरुले हतारिएर सार्वजनिक अभिव्यक्ति दिनु उचित नहुने पनि श्रेष्ठको टिप्पणी छ ।

Leave a Reply