रूपन्देही । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“हिजो हामी संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौं ।, उनले भने, जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन । दलाल पूँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन । तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन ।”
सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने भनेर लेखिएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले भूमाफियाविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । प्रधानमन्त्रीले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको जनाए ।
भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देशविरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ । तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उनले उल्लेख गरे ।
उनले भने, “यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदै गर्दा भिन्न रुपले देशमा समाजवादको आधार निर्माण गर्नुपर्ने हुन्छ र बाँकी रहेका विभेदहरुको अन्त्य गर्नुपर्ने हुन्छ । यही सोचाईका आधारमा समाजिक न्याय, सुशासन र समृद्धि एउटा नारा बनाएको छु । अरुभन्दा फरक ढंगले काम गर्ने र पहिले पहिलेभन्दा भिन्न ढंगले समाजवादको आधार निर्माण गर्ने काम गर्ने संकल्प लिएको थिएँ । त्यो संकल्प लिए पछि विभिन्न क्षेत्रमा सुधारका र समाजवादको आधार निर्माण गर्ने कामहरु सुरु भएका छन् ।”
उनले आफू प्रधानमन्त्री भएको बेला रुकुम पूर्वी क्षेत्रको विकास कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । नेपाल भ्रष्टाचारका कारण बदनाम भएको भन्दै उनले वर्तमान सरकारले सुशासन अभियान अन्तर्गत भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति भएको बताए । प्रधानमन्त्री प्रचण्डले बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणको फाइल खोली मुद्धाको प्रक्रिया अगाडि बढाउनु पनि त्यसै अन्तर्गत भएको जनाए ।

Leave a Reply