काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्न प्रेरणा मिल्ने विश्वास जनाएका छन् ।
छठको अवसरमा शुभकामना दिँदै उनले यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन छठले सबैलाई प्रेरणा मिल्ने प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन् ।
‘भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले हामी नेपालीहरू विश्वमै विशाल र वैभवशाली छौं । यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले राम्रोसँग प्रमाणित गर्दछन्’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।
देशमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकतावद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिल्ने उनको विश्वास छ ।

Leave a Reply