अनाथ आश्रमको अक्षयकोष बनाउन महायज्ञ सुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा ६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमको अक्षयकोष वृद्धि गर्न श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु भएको छ ।

महायज्ञ उद्घाटन गर्दै तिलोत्तमाका मेयर रामकृष्ण खाणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दीक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ सहयोग घोषणा गरे । उनले यो महायज्ञ सिङ्गो तिलोत्तमा नगरपालिकाको महायज्ञ भएको भन्दै १७ वटै वडाका वडाध्यक्ष र नगरवासीले सहयोग गर्नुपर्ने आग्रह गरे ।

समाजसेवी रोमणिप्रसाद पाठकले मानव सेवामा मैनादेवीको समर्पण र दुःखको जति प्रसंशा गरे पनि कम हुने भन्दै साथ दिन आग्रह गरे ।

आश्रम सञ्चालनको खर्च जुटाउन अक्षयकोषलाई एक करोड पुर्‍याउन महायज्ञ गर्न लागिएको आश्रमकी सञ्चालक मैनादेवीले बताइन् । हाल अक्षयकोषमा ५२ लाख रुपैयाँ संकलन भएको तर यसको ब्याजबाट आउने मासिक ४२ हजार रकमले १२ जना बालबालिकालाई खाना, खाजा, कपडा, स्टेशनरीलगायत सामान किन्न रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पुर्‍याउने लक्ष्यसहित पाँचौँ महायज्ञ सञ्चालन गर्न लागेको मैनादेवीले बताइन् ।

१२ जना बालबालिकाको पालनपोषण र शिक्षा दीक्षासहित २ जना कर्मचारीलाई तलब दिन महिनामा कम्तीमा एक लाख रुपैयाँ खर्च हुने र त्यसका लागि अक्षयकोष एक करोड पुग्नुपर्ने उनको भनाइ छ ।

आर्थिक स्रोतको अभावमा काम गर्ने कर्मचारी राख्न नसक्दा ६२ वर्षीय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहारसुसार, उनीहरूको पालनपोषण र शिक्षादीक्षाका लागि बिहानदेखि रातिसम्म खटेर आफै काम गरिरहेका छन् । अहिले आश्रममा १२ जना बालक छन् ।

उनीहरूले तिलोत्तमाकै शान्ति नमूना माविमा पढिरहेका छन् । मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा प्रेमसुजन शास्त्री प्रमुख कथा वाचक र निशान्त अधिकारी उपवाचकसहित ११ जना पण्डितहरूले संगीतमय कथा वाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झाँकी र लीलासहित गीत र नृत्यमार्फत भक्तजनहरूलाई मनोरञ्जन दिलाउने छन् ।

महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसँग सहकार्य गरेको छ । महायज्ञमा रात्रिकालीन झाँकी र नृत्य विशेष आकर्षक बनाउने तयारी भएको मैनादेवीको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *