भैलोले निम्त्याएको सडक जोखिम

डोटी । ‘ब्रेक तातेको हुन्छ, त्यसै पनि ओरालोमा ब्रेक कम लाग्छ । भैलो माग्ने नाममा दुई÷चार रुपैयाँको लोभले बिच सडकमै गुडिरहेको गाडीको अगाडी दौडेर आउँछन् । बच्चाहरू त थिए थिए, महिलाहरू र जड्याँहहरु झन् सताउँछन् । कुनै दुर्घटना भयो भने दोष जति सबै हामी चालकको हुन्छ’, धनगढी-सिलगढी चल्ने माइक्रो बसका चालक दीपक अवस्थीको भनाई हो यो ।

भैलो माग्ने नाममा कुकुर तिहारको दिन देखिनै सवारी चालकहरूलाई सास्ती दिने काम भइरहेको उनको गुनासो छ । उनी थप्छन् ‘सानो केही हुने बित्तिकै दोष जति हामीलाई दिन्छन् तर हाम्रो समस्या कसैले पनि बुझ्दैनन् ।’

यस्तै पीडा व्यक्त गर्छन् डडेलधुराको स्याउले बजारमा भेटिएका मोटरसाइकल चालक भानु ऐर । उनले भने ‘गाडी देख्ने बित्तिकै दौडेर आउँछन्, सडकमा रस्सी तानेर रोक्न खोज्छन् । गाडी हो, ब्रेक नलाग्न सक्छ । केही घटना भयो भने उनीहरूका साथसाथै आफ्नो पनि तिहार बिग्रिने चिन्ता व्यक्त गर्छन् ।’

चालक मात्रै हैन, यात्रुहरू पनि डराउने गरेका छन् । डोटीको दिपायलबाट धनगढी गइरहेका जगतबहादुर बोहरा भन्छन् ‘यिनीहरू (भैलो माग्ने) लाई त मर्ने चिन्ता छैन जस्तो लाग्छ, तर केही भयो भने हामीलाई पनि तनाव हुन्छ ।’

सडकमा आफ्नो गतिमा गुडिरहेको गाली रोकेर भैलो माग्नु जोखिमपूर्ण रहेको उनी बताउँछन् । उनी थप्छन् ‘प्रहरी÷प्रशासनले यस्ता कुराहरू नियन्त्रण गर्नुपर्छ ।’

यस्तै धारणा छ, एक अर्का यात्रुको पनि । सडकमा भैलो माग्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लाउनु पर्ने उनको धारणा छ । उनले सधैँ चालकलाई मात्रै दोष दिनु नहुने बताए ।

दिपायल–धनगढी मोटरसाइकलमा यात्रा गर्दै आएका सञ्चारकर्मी पवन महरा भन्छन्, ‘सडकमा रस्सी हालेर भैलो माग्ने प्रवृत्तिले भैलोको मौलिकतामाथि नै प्रहार भइरहेको छ ।

‘सबैले सक्ने जति गाडीवालासँग मात्रै हुन्, गल्ती जसको भए पनि सजाय भोग्नु पर्ने हामीले नै हो’ डडेलधुरा–दिपायल चल्ने एक यात्रुवाहक जीपका चालक भन्छन् ‘यति ट्राफिक प्रहरीहरू तिहार खर्च उठाउनमा मस्त छन्, दुनियाँ सडकमा भैलो खेल्नमा मस्त छ ।’

ट्राफिक प्रहरीले यो वा त्यो बहाना बनाई चाडवाडको समयमा अझ बढी दुःख दिने गरेको बताए ।

उनी थप्छन्, ‘तिहारको समयमा गाडी चलाउन निकै जोखिम हुन्छ सर, भोलीदेखि चलाउँदैन । अव तिहारपछि मात्रै चलाउँछु ।’

कैलाली–बझाङ सडकमा चल्ने बसका सहयोगी कृष्ण भट्ट अत्तरियामा २०÷५० रुपैयाँमा खुद्रा नोट खोज्दै थिए ।

‘बझाङ पुगुन्जेलसम्म भैलो माग्ने एक सय भन्दा बढी टोली भेटिन्छन्’ भट्टले भने ‘धेरै जिद्दी गर्ने टिम भेटियो भने सय भन्दा तल मान्दैनन्, कसै कसैले त २० रुपैयाँमा पनि मानिहाल्छन् ।’

पैसा खर्च हुने भन्दा बढी चिन्ता उनलाई पनि दुर्घटनाकै हुन्छ । उनले भने ‘गाडी त मेसिनरी चिज हो, भनेकै बेला झ्याप्पै ब्रेक नलाग्न पनि सक्छ, यस्तो बेलामा केही दुर्घटना भयो भने समस्या हुन्छ ।’

गाडी देख्ने बित्तिकै बिच सडकमा आउनु भन्दा छेउमै उभिएर माथि दिए हुन्थ्यो भन्ने भट्टको चाहना छ ।

उनी भन्छन् ‘गाडीवालालाई दोष दिने सबै छन्, हाम्रा समस्या बुझिदिने कोही छैनन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *