काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभाका सांसद सूर्य थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय खेदजनक भएको बताएका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै टिकटकलाई व्यवस्थित गर्न जरुरी रहेकोमा सरकारले स्वेच्छाचारी ढंगले बन्द गरेको टिप्पणी गरेका छन् ।
त्यस्तै, नियमन गर्ने कुरा संसदबाट कानून बनाएर गर्नुपर्ने उनले धारणा राखेका छन् । सरकारले तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्न प्रयास गरेको थापाको भनाइ छ ।
‘विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानून बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता भएर मात्रै चल्ने बनाउन तथा कानूनबमोजिम मात्रै नियमन गर्न थापाले जोड दिएका छन् । त्यस्तै, जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन पनि थापाले ध्यानकर्षण गराएका छन् ।
‘टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानूनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जोडदार माग गर्दछु’, उनले भनेका छन्, ‘म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु ।’
यस्ताे थापाकाे विज्ञप्ति:

Leave a Reply