जनकपुरधाम । कलिला सुँगुरलाई पशुले मार्न लगाएर सिरहाको कल्याणपुर नगरपालिका ५ चिकनामा ‘हुराहुरी’ मनाइएको छ ।
सुँगुरलाई बाँधेर बलिया गाई, भैंसी र गोरुबाट मार्न लगाउने खेललाई ’हुराहुरी’ भनिन्छ । यो एक प्रकारको अनौठो र हिंसात्मक खेल हो । सुँगुरलाई लखेटी लखेटी मारिरहेका बेला ढोल बजाइन्छ ।
लक्ष्मी पूजा अर्थात् दिपावलीको विहानपल्ट तराई/मधेशमा ’हुराहुरी’ मनाइन्छ । विगतमा प्रायः गाउँमा ’हुराहुरी’ मनाइन्थ्यो । तर पछिल्लो समय लोप हुन लागेपनि कल्याणपुर ५ का वडाध्यक्ष कुलदीप यादवले ’हुराहुरी’लाई निरन्तरता दिए ।
उनले ५ हजार रुपैयाँमा एउटा सुँगुर किनेर ’हुराहुरी’ खुल्ला चौरमा आयोजना गरे । उक्त सुँगुरलाई डोरीमा बाँधेर पशु चौपायाबाट मार्न लगाए । सुगुरलाई मार्न गाउँका सयौं व्यक्ति गाई, गोरु र भैंसी लिएर पुगेका थिए ।
खुल्ला चौरमा सुँसुरलाई गाई, भैंसी र गोरुले लखेटी लखेटी मार्दा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए । तर माया कसैलाई लागेनन्, बरु उनीहरु यसलाई मनोरञ्जनको रुपमा लिए ।
स्थानीय योगेश यादवका अनुसार सुँगुरलाई गाउँकै अशोक खर्गा यादवको गाईले मारेको छ । सुँगुरको मत्यूपछि डोम समुदायका व्यक्तिलाई सुम्पिएको छ ।
वडाध्यक्ष यादवले ’हुराहुरी’ सदियौंदेखि मनाइने परम्परा भएको भन्दै हरेक वर्ष जस्तै यो आज पनि ’हुराहुरी’ मनाएको बताए । उनले ’हुराहुरी’ किन मनाइन्छ भन्नेबारे केहि बताउन चाहेनन् ।
हुराहुरी मनाउँदा पशु चौपायालाई कुनै रोग नलाग्ने जनविश्वास छ । तर परम्पराको नाममा एउटा पशु (सुँगुर)लाई अर्को पशुबाट हत्या गर्न लगाउनु गलत भएको धेरैले गर्छन् ।


Leave a Reply