प्रशासन र विद्यार्थीबीच सहमति, एक महिनादेखि अवरुद्ध युनिभर्सल शिक्षण अस्पतालको सेवा सुरु

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र यहाँ आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ ।

विभिन्न माग राख्दै विगत एक महिनादेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण अस्पतालबाट सञ्चालन हुने सेवाहरू बन्द भएका थिए । जसका कारण बिरामीहरू मर्कामा परेका थिए र अस्पतालको सेवा समेत प्रभावित भएको थियो ।

युसीएमएस प्रशासन तथा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भई अस्पताल र कलेज मङ्गलवार (आज)देखि पूर्ण रूपमा सुचारु भएको युसीएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले जनाएका छन् ।

‘यस अवधिमा उठेका समस्यालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि समन्वय तथा सहकार्य गरिदिनुहुने सबैमा अस्पताल प्रशासन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ’, प्रमुख कार्यकारी अधिकृत पिएसद्वारा जारी सूचनामा उल्लेख छ ।

विद्यार्थीको सहमति विपरीत प्राचार्य डाक्टर लक्ष्मी पाठकले ड्रेसकोर्ड लागू गरेको र विद्यार्थीमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै उनीहरू लगातार आन्दोलनमा रहेका थिए ।

विद्यार्थीको माग अनुसार भएको सहमतिमा तत्काल प्राचार्य पद खाली राख्ने र पछि अर्को विकल्पमा छलफल गर्ने, विद्यार्थीका विषयमा निर्णय गर्दा अनिवार्य छलफल गरेर जानेलगायत उनीहरूले राखेका अधिकांश मागमा प्रशासनले सहमति जनाएपछि वार्ता टुंगोमा पुगेको एक विद्यार्थीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *