काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ गरेको छ । सरकारी कार्यालयमा रिपोर्टिङ गर्ने क्रममा स्पेस फोके टीभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबरजस्ती गरिएको उक्त भिडियोले पत्रकार र पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाजसमेत उठेको थियो ।
काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौं उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका छन् ।
उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका छन् ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाइनमार्फत चल्ने टीभी र युट्युब च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।
काउन्सिलसमक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहो¥याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए ।
प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारबाही गरिसकेको छ ।
कतिपय पत्रकारलाई काउन्स्लिले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ । जथाभावी लेख्ने, बार्गेनिङ गर्ने युट्युबसहितलाई काउन्सिलले प्रहरीसँग समन्वय गरी विभिन्न कारबाही गर्दै आएको छ ।

Leave a Reply