सोल्टीमोडमा सैनिकको शव नजिकै कसले टाँसेको थियो- ‘विनोद, रेस्ट इन पिस’

काठमाडौं । शनिबार बिहान काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडमा एकाबिहानै एक व्यक्ति सडक पेटीमा मृत भेटिए । घटनास्थलभन्दा करिब सय मिटर नजिकै बिजुलीको पोलमा एउटा कागज टाँसिएको थियो । जसमा लेखिएको थियो- ‘विनोद, रेस्ट इन पिस’।

प्रहरीले मृत फेला पर्ने ती व्यक्तिको नाम विनोद हुनसक्ने प्रारम्भिक अनुमान गरेको थियो । अनुसन्धानका क्रममा ती व्यक्ति नेपाली सेनाका लेश नायक २६ वर्षीय सुमन कार्की रहेको खुल्यो।

सुमनसँग उनले बोक्ने गरेको मोबाइल साथमा थिएन । प्राविधिक अनुसन्धानका क्रममा शुक्रबार राति ८ देखि ९ बजेको बीचमा उनी नजिकै रहेको दरबार बैंक्वैटबाट बाहिर निस्किएर आफैं लडेको देखिएको थियो । सोही अवस्थामा उनी बिहान भेटिएका थिए । प्रहरीका अनुसार लड्नुअघि सुमनले बैक्वेटमा मदिरा सेवन गरेका थिए ।

सीसीटीभी फुटेज हेर्दा ९ बजेर ४२ मिनेटमा दुई जना व्यक्तिले सुमनसँग रहेको मोबाइल लिएर गएको देखिएको थियो । उक्त मोबाइल राति १० बजेर ५० मिनेटमा जैसीदेवलबाट स्वीच अफ भएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

‘प्रारम्भिक रुपमा हेर्दा कार्कीको भवितव्य भएर मृत्यु भएको देखिन्छ । उनी मदिरा सेवन गरेपछि नियन्त्रण गुमाएर आफैं लडेको देखिएको छ’, एक अनुसन्धान अधिकारीले भने ।

प्रहरीले मोबाइल लैजानेको खोजी गरिरहेको छ । केही व्यक्ति अनुसन्धानको दायरामा समेत रहेको बुझिएको छ । बिजुलीको पोलमा टाँसिएको उक्त कागज घटनासँग सम्बन्धित रहे-नरहेकोबारे प्रहरीले निष्कर्ष निकाल्न सकेको छैन ।

‘मृतकको नाम विनोद होइन । मोबाइल लिएर गएका व्यक्ति पनि कागज टाँसिएको दिशातर्फ गएको देखिँदैन । तर, कागजमा लेखिएको अक्षर हेर्दा त्यति पुरानो जस्तो पनि देखिँदैन’, अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीका अनुसार कागज टाँसिएको ठाउँमा रातभर मानिसहरुको गतिविधि पनि देखिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *