डोटी । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई युवाको सोमबार दाह संस्कार गरिएको छ ।
डोटीको आदर्श गाउँपालिका-५ पीडका पदम थापाको आदर्शको तलारास्थित सेती नदी किनारमा दाह संस्कार गरिएको हो । पदमलाई उनका काका कटक थापाले दागबत्ती दिए ।
यस्तै शिखर नगरपालिका- ६ चुँडीका राजन फुलाराको सोही वडाको अडेउलस्थित सेती नदीमा दाह संस्कार गरिएको हो । फुलारालाई उनका बुवा घनश्यामले दागबत्ती दिएका थिए ।
दुवै युवाको शव आइतबार डोटी आइपुगेको थियो । नेपाली सेनाको स्काई एम्वुलेन्स एनए ०६४ मार्फत आइतबार दिउँसो करिब ३ बजे फुलारा र थापाको शव डोटीको दिपायल विमानस्थल ल्याइएको थियो । त्यही आफन्तले उनीहरुको शव बुझेका थिए ।
शव बुझ्न आफन्तसँगै शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का विमानस्थल पुगेका थिए ।
मृतकको शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ गरी घरसम्म पु¥याएको थियो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत भदौ २६ गते इजरायल पुगेका थिए । उनीहरुको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो । उनीहरुको शव झण्डै एक महिनापछि नेपाल आइपुगेको हो ।

Leave a Reply