जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रयासमा छन् ।

संसदको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जाजरकोट-रुकुममा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । सो पार्टीका दुई चिकित्सक नेता डा. मुकुल ढकाल र डा. तोसिमा कार्की घाइतेहरूको उपचारमा समेत संलग्न छन् । यसैगरी, पार्टीले विभिन्न राहत सामग्री पनि वितरण गरिरहेको छ ।

रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भने अलि पृथक शैलीमा प्रस्तुत भएका छन् । उनी त्यहाँ स्थलगत अवलोकन र राहत वितरणमात्र होइन, एउटा रेडियो कार्यक्रम पनि चलाइरहेका छन् । आफ्नो पुरानो पेशालाई ब्यूँताउँदै उनी जाजरकोटको रेडियो पाइला (९१.६ मेघाहर्ज) बाट उनी स्रोतामाझ प्रस्तुत हुन थालेका हुन् । ‘सही सूचनाका लागि हेल्लो रवि’ उनको नारा छ ।

भूकम्प आएका दिन रवि पाल्पामा थिए । पार्टी कार्यक्रममा सिलसिलामा त्यहाँ रहेका उनले भूकम्पपश्चात तत्काल सबै कार्यक्रम स्थगत गरेर जाजरकोट पुगेका हुन् । उनले पार्टी पंतिलाई पनि भूकम्पपिडितको उद्दार र राहतमा खटिन अपील गरेका थिए । त्यसबमोजिम रास्वपाका नेता कार्यकर्ताको ठूलै समूह जाजरकोटामा खटिएको छ ।

रविले सुरू गरेको रेडियो कार्यक्रमलाई लिएर आम मानिसहरूको मिश्रित प्रतिक्रिया पाइन्छ । समर्थकहरूले सधैँजस्तो उनको वाहवाही गरेका छन् । संकटको क्षणमा जनतासँग जोडिन खोजेको भन्दै प्रशंसा गरेका छन् । आलोचकहरूले भने उनीमाथि विभिन्न प्रश्न उठाएका छन् । दु:खको बेला पनि स्टन्ट गर्न नछोडेको आरोप लगाएका छन् । रविले रेडियो कार्यक्रम चलाउँदा भूकम्प पीडितहरूलाई कसरी सहयोग हुन्छ भन्ने उनीहरूको प्रश्न छ ।

रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एक फएममा लाइभ आउन लागेको जानकारी गराएका थिए । त्यसमा उनले जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि केही दिनको लागि रेडियोकर्मी बन्न लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले विगतमा गरेको, जानेको र अहिले आवश्यक एउटा महत्वपूर्ण काम भनेको आवाजविहीनको आवाज, आम जनताका पीर, मर्का र समस्याहरू सरोकारहरूसम्म पुर्‍याउने हो । विपद्कै बेला यो अझै महत्वपूर्ण हुन्छ । तसर्थ जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि म केही दिनका लागि जाजरकोटको रेडियोकर्मी बन्दैछु । सबैलाई काम लाग्ने गरी समन्वयमा रहनेछु ।’

रविले घन्टौंसम्म भूकम्पपिडित, स्थानीय निकाय, सरोकारवालाहरूसँग रेडियोमार्फत कुराकानी गरिरहेका छन् ।

उनले रेडियो कार्यक्रम चलाउँदा भने, ‘म नागरिकसँग जोडिन चाहन्छु । यसबाट आत्मसन्तुष्टि हुन्छ । आमनागरिकलाई दु:ख पर्दा त्यहाँ पुगौं जस्तो लाग्छ । यो स्टन्टबाजी होइन, मेरो स्वभाव हो । राजनीतिक लाभ लिन खोजेको भनेर गलत अर्थ नलगाइदिनुहोला । म समन्वयकर्ताको रूपमा यहाँ बसेको छु ।’

रविको कमेन्ट बक्समा हेर्दा सकारात्मक र नकारात्मक कमेन्ट मिश्रित भेटिए । बढीले चाहीँ तारिफ नै गरेका छन् ।

सुजन लिम्बूले लेखेका छन्, ‘साँच्चै देश र जनताको हितमा लड्ने रवि सर, सधैँ हाम्रो साथ छ ।’

गणेश भट्ट लेख्छन्, ‘विपतका बेला जसले जहाँबाट जस्तो सकिन्छ योगदान गरौं, यस्तो काममा रवि दाइ सधैँ अगाडि ।’

केशव कोइरालाको प्रतिक्रिया छ- ‘नेता भनेको यस्तो एक्सन ओरियन्टेड हुनुपर्छ ।’

नकारात्मक प्रतिक्रियाहरू पनि भरमार नै छन् । केही नमूनाः

रेडियो सुनेर भोक मेटिँदैन, राहत चाहियो– नविन चापागाईं

ल ल २-४ भोट बटुल– सुदीप निरौला

मौकाको फाइदा यही हो नछोड रवि– गोविन्द ठकुरी

नबुझेको कुरा रविले रेडियो कार्यक्रम चलाउँदा भूकम्पपिडितलाई के फाइदा हुन्छ ? – प्रमिला बराल

रविले यो रेडियो कार्यक्रम कहिलेसम्म चलाउने भन्ने टुंगो नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘म आवश्यकता पर्‍यो भने अरु सबै कुरा थाती राखेर २४ घण्टा नै चलाउन पनि सक्छु । पहिले पनि सबैभन्दा लामो टीभी कार्यक्रम चलाएर विश्वरेकर्ड राखेको हुँ ।’

रविले फरक प्रयास गरेको भए पनि जोसुकै व्यवसायिक सञ्चारकर्मीले गर्न सक्ने काममा एउटा राजनीतिकर्मी किन आफैं अघि सर्नुपर्‍यो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर उनका शुभचिन्तकहरूले पनि खोजिरहेका छन् ।

Comments

3 responses to “जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली”

  1. माधब पौडेल Avatar
    माधब पौडेल

    रेडियो कार्यक्रम चलाएर स्टन्ट गर्यो भन्नेले आफ्ना नेतालाई हैसियत र हिम्मत भए चलाढन लगाउनु नि अनिलनेपमलमा अहिले नेपालमा भाईरल हुन गर्नुपर्ने ५ कुराहरु:
    १. ज्ञानेन्द्र शाहलाई गालि गर्नु २, बालेन शाहलाई स्टन्ट गरेको भन्नू ३. रवि लामिछाने सहित उनका टोलिलाई गालि गर्नु ४. टिकटकमा आफ्नो अनेक देखाउनु ५. अण्टसण्ट बोलेर सबैको ध्यान खिच्न सक्नु ।

  2. सि.वि. गु. Avatar
    सि.वि. गु.

    आपत बिपात मा जो जस सँग जे जस्तो क्षमता छ बस्तु स्थिति हेरेर सहयोग गर्नु राम्रो हो

  3. Uttam lal rai Avatar
    Uttam lal rai

    जजसले जे भने पनि संसद भनेको रवि ज्यू जस्तो हुनु पर्दछ।इस्टर्न देखवस्की नाटक गरोस् दुःख परेको बेला साथ सपोर्ट गर्ने मान्छेलाई सलाम छ मेरो जै रवि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *