काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतलाई आज श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिन अर्पण गरेका हुन् । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।
उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण सुरू गरिने जानकारी दिए ।
‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ’, उनले भने, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं ।’ उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताए । उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धता जनाए ।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।
नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए । ‘पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ’, उनले भने ।
भूकम्प गएको समयमा उपप्रमुख सिंह सदरमुकाम खलङ्गा भए पनि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।

Leave a Reply