काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ ।
भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो ।
मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।
उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटिने छ ।
स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।
शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण पठाएको छ । अरु विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ ।

Leave a Reply