४०२ रनको लक्ष्य पाएको पाकिस्तानलाई वर्षा बन्यो लक, डकवर्थमा २१ रनले विजयी

नयाँ दिल्ली। एकदिवशीय विश्वकपअन्तर्गत शनिबार पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य दिएको न्युजिल्यान्ड स्तब्ध बनेको छ।

पाकिस्तान डकवर्थ नियमका आधारमा २१ रनले विजयी भयो। वर्षाका कारण खेल रोकिनुअघि पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाएर २ सय रन जोडेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र पाकिस्तान डकवर्थ नियम आधारमा २१ रनले विजयी भयो। पाकिस्तानले २१.३ ओभरमा एक विकेट गुमाएर एक सय ६० रन जोडेको अवस्थामा पनि खेल रोकिएको थियो। त्यसपछि सूचारु भएको खेलमा पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो।

त्यसको मतलब पाकिस्तानले बाँकी १९.३ ओभरमा एक सय ८२ रन बनाउनुपर्ने थियो। वर्षा फेरी सुरु हुने सम्भावनाबीच पाकिस्तानी ब्याट्सम्यानले तेज गतिमा रन जोडेका थिए। २५ औँ ओभरमा पाकिस्तानले २० रन जोडेको थियो। फाखर जमान एक सय २५ र बाबर आजम ६६ रनमा अविजित रहे। यो जितले पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

८ खेलबाट ८ अंक भएको पाकिस्तान तालिकाको पाचौँ स्थानमा छ। समान अंक भएको न्युजिल्यान्ड नेट रनरेटमा अगाडि रहँदै चौथोमा छ। अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।

त्यसअघि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रनको विशाल योगफल तयार गरेको थियो। रचिन रविन्द्रले एक सय ८, केन विलियमसनले ९५, डेभन कनवेले ३५, ग्लेन फिलिप्सले ४१ र मार्क च्यापम्यानले ३९ रन बनाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *