राप्रपाले ज्ञानेन्द्र शाहीको नेतृत्वमा जाजरकोट खटायो टोली

काठमाडौं । राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।

पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिमै पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई सबै कार्यक्रम स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न निर्देशन दिएपछि शाही टोलीसहित जाजरकोटतर्फ पुगेका छन्।

लिङ्देनले सबै भातृसंगठन तथा छिमेकी जिल्लाका पार्टीका कार्यकर्ताहरूलाई पनि उद्धार तथा राहतका कार्यमा सहभागी हुन अनुरोध गरेका छन्।

जाजरकोट भूकम्पका घाइतेहरूको उपचारका लागि सरकारले तोकेको डेडिकेटेड हस्पिटल नेपालगञ्जको भेरी अस्पतालमा राप्रपाका युवाहरूले आवश्यक सहयोग र सहजीकरण गरिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । घाइतेको उपचारमा रगतको कमी हुन नदिन पार्टीका युवाहरू संगठित रूपमा परिचालित भइरहेको उनले बताए ।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा नेपालगञ्जमा खटिएका छन् । उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य जनकसिंह ठकुरीको टोली त्रिपाल, खाद्यान्न, लत्ताकपडा र अन्य सामग्रीसहित सुर्खेतबाट जाजरकोटतर्फ प्रस्थान गरेको छ ।

राप्रपाले भुकम्प प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा संलग्न हुन, राहत र पुनस्स्थापनामा जुट्न पार्टीको सबै निकायमा सर्कुलर गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *