पोखरा । पोखरा महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको एक महिनाको तलब गत राति गएको भूकम्पका कारण प्रभावितहरूलाई राहत दिन खर्चिने भएको छ ।
महानगरपालिकाले पहिलो चरणमा महानगरका मेयर, उपमेयर, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको तलबबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजार रुपैयाँ भूकम्पपीडितको राहतका लागि खर्च गर्ने जनाएको हो ।
मेयर, उपमेयरसहितको एक महिनाको तलब र अन्य जनप्रतिनिधि एवम् कर्मचारीहरूको स्वैच्छिक सहयोग र नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च व्यहोर्ने गरी ५० लाख बराबरको राहत भूकम्पपीडितलाई सहयोग प्रदान गर्ने मेयर धनराज आचार्यले जानकारी दिए ।
घटनामा राहत तथा उद्धारमा सहयोग पुर्याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय सहारा प्रधान र राम मोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टिम राहत तथा उद्धारका सामग्रीसहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।
भूकम्पका कारण ठूलो जनधनको क्षति व्यहोरेको जाजरकोट र रुकुममा पोखरा महानगरपालिकाले नगर प्रहरीसहित राहत र उद्धार टोली पठाएको छ ।

Leave a Reply