आरके शर्मा नेतृत्वको एनआरएनले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल २१ लाख सहयोग गर्ने घोषणा

काठमाडौं । आरके शर्मा नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै एनआरएन अभियन्ताबाट संकलन गरेर सरकारले सुरु गरेको राहत कोषमा २१ लाख जम्मा गर्ने घोषणा गरेको हो ।

एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीले शनिवार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भूकम्प सम्बन्धी सचेतना, जोखिम न्यूनीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना लगायतका काममा संघले नेपाल सरकारसँग सहकार्य गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनको आपतकालीन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौँ ।’

अध्यक्ष शर्मा र महासचिव सुवेदीले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि दिल खोलेर सघाउन तथा आर्थिक लगायतका अन्य आवश्यक सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद् तथा संसारभरि रहेका गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।

साथै थप राहत तथा उद्धारका लागि एनआरएनए तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनएले उद्धारमा सहभागिता जनाउने बताउँदै उनले केही एनआरएन अभियन्ता भूकम्प प्रभावित क्षेत्रतर्फ गइसकेको र चिकित्सकीय टोलीसहित आफू पनि भूकम्प प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *