काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरेर साढे १३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न क्षेत्रबाट ८५९ र सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार पाँच सय भन्दा बढी सशस्त्र प्रहरी बल परिचालित रहेको छ ।
प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कुवेर कडायतका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोक्काको नेतृत्वमा ४५० जना, रुकुम पश्चिमबाट डीएसपी नमराज भट्टराईको नेतृत्वमा ३२० जना र कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९ जना परिचालन गरिएको छ ।
उनका अनुसार चौरजहारी बेस क्याम्पबाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) को नेतृत्वमा ११ जना, सल्यानबाट प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जना र इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतबाट असईकै नेतृत्वमा नौ जना परिचालन गरिएको छ ।
यस्तै सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काका अनुसार भूकम्पमा परेकाको खोज तथा उद्धारको लागि आवश्यक उद्धार सामाग्रीसहित जाजरकोटमा मेडिकल सामाग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित गरेर जम्मा २६२ जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज खटिएको छ ।
जसमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. निश्चल घिमिरेको नेतृत्वमा सात जना एम्बुलेन्ससहितको मेडिकल टोली, नं ३२ रक्तकाली गण सुर्खेतबाट ८५ जना, नं ४२ रिजर्भ गण बाँकेबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित ६० जना, आश्रित गुल्म जाजरकोटबाट ७५ जना र आश्रित गुल्म दैलेखबाट ३५ जना परिचालित छन् ।
प्रवक्ता खड्काका अनुसार रुकुम पश्चिममा पनि भूकम्पमा परेकाको खोज तथा उद्धारको लागि आवश्यक उद्धार सामाग्रीसहित मेडिकल सामाग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २२१ जना भूकम्प प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ ।
जसमा नेपाल एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. रोशन पराजुलीसहित नौ जना, नं २९ ज्वालामाई गण दाङबाट ४० जना, नं ४७ गुल्म रुकुम पश्चिमबाट १०७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ३० जना र आश्रित गुल्म सल्यानबाट ५५ जना परिचालन गरिएका छन् ।
यस्तै सशस्त्र प्रहरी बल नेपालको डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर दाङबाट रुकुम पश्चिम र सुर्खेतबाट जाजरकोटको लागि पठाई सकिएको छ भने सशस्त्र प्रहरी बल नेपालको मास क्याजुअली वेहिकल काठमाडौं, नेपालगन्ज र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ ।
नेपालगन्जमा रहेको उक्त भेहिकलले घाइतेलाई अस्पताल पुर्याएको छ । भूकम्पमा परी घाइते भर्ना गरिएका अस्पताल नजिकका युनिटमा सशस्त्र प्रहरी बल नेपालको फौज रक्तदानको लागि तयारी अवस्थामा राखिएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रमा विपद् उद्धारका दक्ष जनशक्तिसमेत परिचालन गरेको छ भने खोज तथा उद्धारको लागि नेपाल एपीएफ अस्पताल तथा काठमाडौं उपत्यका स्थित नं २० विपद् उद्धार उपत्यका गण, नं २१ निलवाराही गण, नं २२ गुहेश्वरी गण, नं २६ गण पश्चिम नवलपरासी, नं २९ ज्वालामाई गण दाङ्ग, नं ४१ रिभर्ज गण कपिलवस्तु, नं ३० बागेश्वरी गण बाँके, नं ३१ गण बर्दिया, नं ३४ गण कैलाली र नं ३५ गण कञ्चनपुरबाट ५६८ जना सशस्त्र प्रहरी बलको विशेष सुरक्षा फौज तयारी अवस्थामा राखिएको छ । जसमा विपद् व्यवस्थापन तालिम प्राप्त १२०, मेडिकल टिम १६ जना, फायरफाईटिङ्ग १० जनासमेत रहेका छन् ।

Leave a Reply