काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट अशोकसँग तुलना गर्दै यस पटक आफूले नेपालको प्रधानमन्त्रीको रुपमा मात्र नभएर विश्वकै नेताको हैसियतमा भूमिका निर्वाह गरेको बताएका छन् ।
पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघदेखि अमेरिका, भारत, चीन र इटालीको भ्रमणपछि आफूले विश्व आन्दोलनको ‘लिडरशीप’को रुपमा भूमिका खेल्न पाएकोमा गर्व गर्नेसमेत बताए ।
जसरी सम्राट अशोकले युद्धबाट शान्तिको नेतृत्व गरे, त्यसैगरी आफूले पनि युद्धबाट शान्ति, शान्तिबाट संविधान र संविधानबाट विकास, सामाजिक न्याय र सम्बृद्धिको नेतृत्व गरिरहेको प्रचण्डले बताए ।
प्रचण्डले आफूलाई विश्वकै नेताको रुपमा यसरी व्याख्या गरे,
लुम्बिनीमा अशोक स्तम्भ अगाडि संयुक्त राष्ट्रसंघका महासचिव र मैले सम्बोधन गर्यौं । मलाई के खुशी लाग्यो भने अशोक पनि एकचोटी युद्धको नेतृत्वकर्ता, साम्राज्य नै कायम गर्ने ढंगले हिँडेको व्यक्ति । पछि शान्तिको पक्षमा बुद्धिजमको पक्षमा नयाँ योजनाका साथ आएको कुरा र मेरो युद्धबाट शान्तिमा आउने, शान्तिबाट संविधान निर्माण र संविधानपछि सुशासन, सामाजिक न्याय र सम्बृद्धिको प्रक्रिया यो के त ? अन्तर्राष्ट्रिय समुदायमा पनि यसपटक मेरो भारत भ्रमण पनि सफल र ऐतिहासिक भएको छ ।
त्यसैगरी इटालीमा मेरो भ्रमणमा पनि खाद्यसँग सम्बन्धित विषयमा राष्ट्रसंघकै सम्मेलन थियो त्यो । त्यहाँ पनि मैले एलडीसीको चेयर, नेपालको प्रधानमन्त्रीको हैसियतले जसरी विषय प्रस्तु गरें, विश्व समुदायले यसलाई उत्साहवर्धक ढंगले लियो । त्यस्तै संयुक्त राष्ट्रसंघको महासभामा पनि भयो । अमेरिकाको राष्टपतिसँग पनि, त्यहाँको स्टेट मिनिस्टरसँग पनि मेरो कुरा भयो । ती सबै कार्यक्रमहरु र महासभामा मेरो सम्बोधन पनि सुन्नुभएको छ । त्यहाँ त थुप्रै सम्बोधन भएको छ । नेपालको प्रधानमन्त्रीको हैसियतले मात्र होइन, ४७ देशको अध्यक्षको नाताले दुनियाँलाई भन्नुपर्ने थियो मैले भनें । क्लाइमेट चेन्जको कुरा भनें । नेपालको शान्ति प्रक्रियाको विकास क्रमको बारेमा र यसलाई विश्वमा स्थापित गर्नुपर्छ भन्ने कुरामा भनें । । म सन्तुष्ट छु । चीनमा पनि त्यसरी नै । चीनसँग जुन प्रकारले छलफलहरु भए, विश्वासको राम्रो वातावरण बनेको छ । यसले मलाई यो पटक चाहिँ म अब नेपालको प्रधानमन्त्री जस्तो मात्र होइन, अन्तर्राष्ट्रिय आन्दोलनको पनि एउटा लिडरशीपका रुपमा भूमिका खेल्न पाएकोमा मलाई गर्व छ ।

Leave a Reply