कैलाली, कञ्चनपुर र डडेल्धुरामा छुट्टाछुटै दुर्घटनामा परेर तीन जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा हिजो भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाका अनुसार कैलाली कञ्चनपुर र डडेल्धुरामा भएको सवारी दुर्घटनामा पनि तीन जनाको मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको छ ।

गए राति करिब ९ बजे मोटरसाइकल दुर्घटनामा भएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका उपचारको क्रममा राति नै मृत्यु भएको प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

त्यस्तै डडेल्धुरा आलिताल गाउँपालिका १ बनखेत सडक खण्डमा भात्काडाबाट बुडर तर्फ गइरहेको मोटरसाइकल दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ ।

दार्चुला मालिकार्जुन ४ बस्ने अन्दाजी ५४ वर्षको शम्भुसिंह धामीले चलाएको भारतीय नम्बरको मोटरसाइकल सडकमा पल्टिएको र विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किँदा धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा गम्भीर घाइते भएका धामीलाई उपचारको लागि धनगढी ल्याइएको थियो । उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

त्यस्तै कञ्चनपुर शुक्लाफाँटा नगरपालिकामा पनि एक जनाको सडक दुर्घटनामा पनि मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग स्थित शुक्लाफाँटा नगरपालिकामा ५ का रमेश पालले चलाइरहेको साइकललाई भारत २ चम्पावत बस्ने रोहित अग्रवाल सवार मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट साइकल केही नभएको तर, मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा गम्भीर घाइते भएका अग्रवालको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *