काठमाडौं । ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’को प्रतिवेदन संसदीय समितिबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले प्रतिवेदन पारित गरेको हो ।
पारित प्रतिवेदनअनुसार समितिमा प्रतिनिधिसभाको प्रमुख विपक्षी दलका नेताको मर्यादाक्रम दुई तह बढाउने सहमति भएको छ । प्रतिनिधिसभाको विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीकै लहरमा रहने गरी सहमति जुटेको विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले नेपाल प्रेसलाई जानकारी दिइन् ।
उनका अनुसार अहिले प्रतिनिधिसभाका विपक्षी दलका नेताको मर्यादाक्रम आठौं नम्बरमा छ । अब विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रिपरिषदका पूर्वअध्यक्षसरह छैटौं नम्बरमा राख्ने सहमति भएको सभापति राईले बताइन् ।
समितिबाट पारित विधेयकमा उपप्रधानमन्त्रीको मर्यादाक्रम दुई तह घटुवा भएको छ । यसअघि छैटौं नम्बरमा रहेको उपप्रधानमन्त्रीको मर्यादाक्रम समितिले पारित गरेको प्रतिवेदनमा आठौं नम्बरमा प्रस्ताव गरिएको छ ।
यस्तै प्रदेश प्रमुखको मर्यादाक्रम पनि एक तह घटुवा भएको छ । यसअघि सातौं नम्बरमा रहेको प्रदेश प्रमुखको मर्यादाक्रम उपप्रधानमन्त्रीसँगै आठौं नम्बरमा प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधेयकमा शिक्षकको मर्यादासम्बन्धी व्यवस्था समेटिएको छ । विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औं नम्बरमा राखिएको छ भने विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादाक्रम १९औं नम्बरमा राखिएको छ ।
माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २०औं र तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ । विश्वविद्यालयका उपप्राध्यापकको पनि २०औं र सहायक प्राध्यापकको २१औं नम्बरमा राखेर प्रतिवेदन तयार पारिएको छ ।
विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ । राष्ट्रियसभाको बैठक मंगलबार साँझ पौने ५ बजे बस्ने गरी बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिबाट पास भएको विधेयक राष्ट्रियसभाले पारित गरे प्रतिनिधिसभामा पेश हुनेछ । प्रतिनिधिसभाले पनि स्वीकार गरी अगाडि बढाएमा राष्ट्रिय मर्यादामा शिक्षकलाई समेत समेटिएर ऐन बन्नेछ । लामो समयदेखि शिक्षकले राज्यको मर्यादाक्रम कायम गरिदिनुपर्ने माग राख्दै आए पनि समेटिएको थिएन ।
शिक्षा विधेयकलाई लिएर शिक्षकले आन्दोलन गरेपछि सरकारले उनीहरुसँग शिक्षकको मर्यादा निर्धारण गर्ने सहमति गरेको थियो । सहमतिपत्रको पहिलो बुँदामै शिक्षकको मर्यादाक्रम कायम गर्ने उल्लेख थियो । सरकार र शिक्षकबीच भएको सहमतिअनुसार नै विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रममा शिक्षकलाई समेटेर विधेयकको प्रतिवेदन पास गरेको हो ।
यस्ताे छ प्रस्तावित मर्यादाक्रम

Leave a Reply